पूर्वकेन्द्रीय सदस्य एवं अग्रज पत्रकार ढकालको निधन ः महासंघ स्तब्ध

२०७३।०८।२४

नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य एवं अग्रज पत्रकार मदन ढकालको ६५ वर्षको उमेरमा झापास्थित पूर्ण–टुंग बिर्तासिटी अस्पतालमा उपचारको क्रममा मंसिर २३ गते राति निधन भएको दुखद् खवरले नेपाल पत्रकार महासंघ स्तब्ध र मर्माहत भएको छ । लामो समयदेखि मधुमेह र मृगौला रोगबाट पीडित ढकाललाई श्वासप्रश्वासमा समस्या देखिएपछि एक साताअघि अस्पतालमा भर्ना गरिएको थियो ।

 

वि. स. २००९ साल जेठ ८ गते झापाको अनारमनीमा जन्मनु भएका अग्रज पत्रकार ढकाल (२०४९ चैत्रदेखि २०५२ जेठ) र (२०५६ मंसिरदेखि २०५९ बैशाख ) गरी दुई पटक नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्यका रूपमा रहनु भएको थियो । हाल महासंघका सभासद् रहनु भएका ढकालले २०२४ सालबाट शनिश्चरे माविको वार्षिक मुखपत्र उषा दोस्रो अर्चनाको अतिरिक्त कार्यकारी सम्पादक भएर पत्रकारिता सुरु गर्नु भएको थियो ।

 

२०२८ सालदेखि विवेचना अर्धसाप्ताहिक पत्रिकाको दार्जलिङ प्रतिनिधि भई काम गर्नु भएका ढकाल गरिमा (काठमाडौं), बाडुली, (शिलगढी भारत), विवेचना, विश्वदीप, जुही, शिरविन्दु, ध्वनि, साहित्यिक, काठमाडौंका समीक्षा, स्वतन्त्रता, जनस्वतन्त्रता, नयाँसडक, नेपाली, राष्ट्रपुकार, सुरुचि, देशान्तर, नयाँ किरण, करेन्ट, हिमालय टाइम्स, नेपाल समाचारपत्र, स्पेसटाइम्स, तरुण एवं झापाका आलोक, युगज्ञान, विवेचना, सूर्योदय, जनध्वनिलगायतका पत्रपत्रिकामा काम गर्नु भएको थियो ।

 

पछिल्लो समय पूर्वाञ्चल दैनिकका प्रधानसम्पादकका रुपमा रहनु भएका ढकाल साहित्यकार एवं उपन्यासकारका रूपमा समेत परिचित हुनुनहुन्थ्यो । ढकालको प्रकाशोन्मुख कृतिका रूपमा कविता संग्रह–१, कथा संग्रह–१ र सिके प्रसाई (भरतबाबुको) स्मृति यात्रा रहेको छ । पत्रकारिता र समाजसेवामा उल्लेखनीय काम गरेवापत विभिन्न संघ संस्थाबाट दर्जनौं सम्मान, अभिनन्दन र पुरस्कृत हुनु भएका ढकालले पत्रकारिता र साहित्यको सिलसिलामा विभिन्न संघसंस्थाको माध्यमबाट दर्जनौं देशको भ्रमण गर्नु भएको थियो । स्वर्गीय ढकालका श्रीमती, एक छोरा र चार छोरी हुनुहुन्छ ।

 

नेपाली पत्रकारिताको संस्थागत विकासका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका अग्रज पत्रकार ढकालको निधनबाट नेपाली पत्रकारिता जगत्ले एक योग्य, अनुभवी र अभिभावकलाई गुमाएको छ । नेपाल पत्रकार महासंघले ढकालको निधनलाई पत्रकारिता जगतको अपूरणीय क्षतिको रुपमा लिएको छ । उहाँले पत्रकारिता क्षेत्रमा पु¥याउनु भएको योगदानको नेपाली पत्रकारिता जगत्ले सदा स्मरण गरिरहनेछ ।

 

नेपाल पत्रकार महासंघ स्वर्गीय ढकालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा उहाँकी धर्मपत्नी, छोरा र छोरीसहित शोकसन्तप्त परिवारजनमा धैर्यधारणको कामना र गहिरो समवेदना प्रकट गर्दछ ।

 

...................

उजिर मगर

महासचिव