प्रेस स्वतन्त्रता सेनानी भट्टराईको निधनः महासंघ स्तब्ध

२०७३।०३।१९
नेपाल पत्रकार महासंघ रुपन्देही शाखाका सभासद् एवं प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार पण्डित बाबुराम भट्टराईको ह्दयघातका कारण आज विहान ५ः०० बजे ६६ वर्षको उमेरमा असामयिक निधन भएको दुखद् खवरले नेपाल पत्रकार महासंघ स्तब्ध भएको । राति अवेरसम्म बुटवल तामनगरस्थित निवासमा फुटवल हेर्दै बसेका भट्टराईले एक्कासि असहज महसुस गरेपछि उपचारका लागि लुम्बिनी अस्पताल पु¥याउँदा चिकित्सकले निधन भएको घोषणा गरेका थिए ।

तीन दशकभन्दा लामो सययदेखि रुपन्देहीलाई कर्मथलो बनाई पत्रकारिता गर्दै आउनु भएका पत्रकार भट्टराईलाई २०७० सालमा नेपाल पत्रकार महासंघले प्रेस स्वतन्त्रता सेनानी सम्मान प्रदान गरेको थियो ।

रुपन्देहीबाट प्रकाशित हुने जनसंघर्ष, लुम्बिनी, सैनामैना र नयाँसत्ता दैनिकलगायतमा सम्पादकीय जिम्मेवारी वहन गरिसकेका पत्रकार भट्टराई पछिल्लो समय स्वतन्त्र पत्रकारका रुपमा कार्यरत रहँदै बुटवल टुडेलगायत राजधानीका विभिन्न पत्रपत्रिकामा नियमित लेख र स्तम्भ लेख्दै आउनु भएको थियो ।

कला, साहित्यलगायत बेद, पूर्वीय दर्शन र बुद्ध दर्शनका समेत ज्ञाता रहेका बरिष्ठ पत्रकार भट्टराईको निधनबाट नेपाली पत्रकारिता जगत्ले एक योग्य, जुझारु, अनुभवी र कुशल पत्रकार गुमाएको छ । यस घटनालाई महासंघले नेपाली पत्रकारिता क्षेत्रको अपूरणीय क्षतिका रूपमा लिएको छ । स्वर्गीय भट्टराईका आमा, श्रीमती, दुई छोरा र दुई छोरी हुनुहुन्छ ।

महासंघ, स्वर्गीय भट्टराईप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उहाँको आत्माको चिरशान्तिको कामना गर्दछ र दुःखको यस घडीमा शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछ ।

    ................
    उजिर मगर
    महासचिव