संविधान विपरीत प्रधानमन्त्रीको नियुक्ति र प्रतिनिधि सभा विघटन संवैधानिक र नागरिक सर्वोच्चता विपरीत रहेको महासंघकाे ठहर 

 

मिति : २०८२/०५/२८

नेपाल पत्रकार महासंघ लोकतन्त्र, संविधानवाद, विधिको शासन, मानव अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता संरक्षणको लागि निरन्तर वकालत गर्दै आएको नागरिक अगुवा संस्था भएको विदितै छ।

२००७ सालदेखि राजनीतिक मुद्दाको रूपमा रहेको जनताबाट निर्वाचित संविधान सभामार्फत संविधान लेखिनु पर्दछ भन्ने चाहना २०६२/६३ सालको जनआन्दोलनपछि साकार हुन पुगेको थियो । यसबिचमा पछिल्लो पटक जेन्जी आन्दोलनपछि मुलुकमा नँया राजनीतिक परिस्थिति निर्माण हुन पुग्यो।

जेन्जी पुस्ताले उठाएको भ्रष्टाचार र बेथिति विरूद्दको माग संविधानको दायराभित्रबाटै पूरा गरि उन्नत लोकतान्त्रिक अभ्यासमा अगाडि बढने अवसर मुलुकले प्राप्त गरेको थियो।

तर हिजो राष्ट्रपतिबाट संविधानकोे प्रावधान विपरीत प्रधानमन्त्री नियुक्त गरियो, प्रधानमन्त्रीले मध्यरातमा गरेको प्रतिनिधि सभा विघटन सिफारिस सदर गरियो । यसबाट जनमतको अपमान भएको छ। यो अलोकतान्त्रिक र असंवैधानिक कदमको महासंघ घोर निन्दा र भत्र्सना गर्दछ ।

महासंघ संविधान विपरीत प्रधानमन्त्रीको नियुक्ति र सर्वोच्च अदालतबाट यसअघि प्रतिपादित नजिर र सिद्धान्त विपरीत भएको प्रतिनिधि सभा विघटन संवैधानिक र नागरिक सर्वोच्चता विपरीत रहेको ठहर गर्दै यो कदम लोकतन्त्रका लागि अनिष्टको संकेत हो भन्ने ठान्दछ।

यो कदमले मुलुकको लोकतान्त्रिक प्रणाली, संवैधानिक सर्वोच्चता, नागरिकका अधिकार, मानव अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लगायत संविधानले व्यवस्थित गरेका गणतन्त्र, संघीयता, समावेशिता जस्ता उपलब्धिमा आघात पुग्ने देखिन्छ । तसर्थ महासंघ वर्तमान संविधान र यसबाट प्राप्त उपलब्धिको रक्षार्थ दृढतापूर्वक अगाडि बढन सबै पक्षलाई आह्वान गर्दछ।

 

रामप्रसाद दाहाल

महासचिव

 Download