नेपाल पत्रकार महासंघको अपिल

मिति : २०८२/०५/२६

नेपाल पत्रकार महासंघको अपिल

नेपाल पत्रकार महासंघ लोकतन्त्र, मानव अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता संरक्षणको लागि निरन्तर वकालत गर्दै आएको छ । अहिले जेनजी पुस्ताको आन्दोलनबाट मुलुकमा विषम परिस्थिति उत्पन्न भएको छ । सरकारले राजीनामा दिएको र अर्को सरकार नबनिसकेकोले मुलुक संक्रमणकालिन अवस्थामा छ । यसलाई जति सक्दो छिटो सुरक्षित अवतरण गरिनु जरुरी छ ।

भ्रष्टाचार नियन्त्रण र सुशासनको माग राखेर सडकमा उत्रिएको युवा पुस्ताको आन्दोलनको क्रममा २३ जनाको ज्यान गइसकेको छ। धेरै बालबालिका र सुरक्षाकर्मी घाइते भएका छन् । महासंघ जीवन गुमाउने युवाहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।

मुलत सुशासनको माग राखेर भएको आन्दोलनमा लाखाैं युवाहरु सरिक भएका थिए यसले लोकतान्त्रिक प्रक्रियालाई नै बलियो बनांउछ तर सवैंधानिक प्रक्रियाबाट मात्र लोकतन्त्रलाई अझ सुदृढ गर्दै लैजानुको विकल्प छैन । अहिले देशैभरी पत्रकारहरुले असुरक्षित महसुस गरिरहेका छन् । ४ जना पत्रकारहरु गोली लागि घाइते भएका छन् । धेरै मिडिया हाउस जलाइएका र आक्रमण गरिएको छ्न् ।

जनतालाई सुसूचित गर्न र शान्ति र लोकतन्त्रका लागि सधै क्रियाशील हुने पत्रकारहरु र मिडियालाई अहिले पनि आन्दोलनको निसाना बनाइएको छ । यो दुःखद र आपत्तिजनक विषय हो । राज्यले मिडिया हाउस र पत्रकारलाई उचित क्षतिपूर्ति दिनुपर्छ। साथैै राज्य र आन्दोलनकारीलाई प्रेस माथि निसाना नबनाउन र यसमा कुनै घुसपैठ भएको भए सो सम्बन्धमा ख्याल राखी प्रेस तथा अभिव्यतिm स्वतन्त्रता कुण्ठित हुन नदिन अपिल गर्दछ ।

जेनजी पुस्ताका मागहरु माथि गम्भीर विमर्श गर्दै त्यसलाई सम्बोधन गर्नु जरुरी छ भन्ने महासंघको ठहर छ । देशमा व्याप्त भ्रष्टाचार र वेथितिका विरुद्ध उठेको युवाहरूको आवाजलाई दबाउन गरिएको सरकारी दमन निन्दनीय छ । त्यस्तै आन्दोनलका नाममा सरकारी, सार्वजनिक, निजी र भौतिक संरचनाको क्षतिप्रति महासंघ दुःख व्यक्त गर्दछ । सिंहदरवार, संसद भवन र सर्वोच्च अदालत लगायतका सार्वजनिक संरचना र सञ्चार माध्यमका कार्यालयहरुमा पु¥याइएको क्षतिप्रति खेद व्यक्त गर्दछ । यस्तो क्षतिको असर मुलुकले दीर्घकालसम्म व्योहोर्नु पर्ने छ। तसर्थ तत्काल यो संक्रमणकालीन अवस्थाको अन्त्यका लागि शान्तिपूर्ण समाधानका लागि राष्ट्रपतिले सवैंधानिक र राजनीतिक रुपमा निकास निकाल्न पहल गर्नुपर्छ ।

मुलत वर्तमान संविधानले निर्धारण गरेको प्रक्रिया र संस्थाहरु मार्फत नै समाधान खोज्दै मुलुकलाई सहज निकास दिनु पर्दछ भन्ने महासंघको ठहर छ । यसका लागि राष्ट्रपतिले वार्ताका लागि बोलाई सकेको अवस्थामा जतिसक्दो छिटो सहजीकरण सुरक्षाको हिसावले मात्र सुरक्षा निकायले गर्ने हो अन्य सरकार बनाउने लगायतको पहल राष्ट्रपति बाटै हुनुपर्छ । र यसको लागि सहजीकरण गर्न पत्रकार महासंघ लगायतका ६ वटा पेशागत सञ्जाल पापड तयार रहेको जानकारी गराउदंछौ । सबै राजनीतिक समस्या समाधानको प्रयास राष्ट्रपति कार्यालयबाट हुनुपर्छ, जंगी अड्डाबाट होइन भन्ने महासंघको ठहर रहेको छ । तर पछिल्लो समय शान्ति सुरक्षा कायम गर्न सेनाले खेलेको भुमिका सराहनीय छ ।

जेनजी पुस्ताले उठाएको संरचनात्मक सुधारका मागलाई समेटदै लोकतान्त्रिक गणतन्त्रको संरक्षण गदै थप उपलव्धि हासिल गर्न जरुरी छ । संयम र संवेदनशील भएर इतिहासको यो कठिन र निर्णायक मोडमा जिम्मेवार बन्न सबै सरोकारवाला पक्षलाई महासंघ हार्दिक अपिल गर्दछ ।

निर्मला शर्मा

अध्यक्ष

 Download