कठिन घडिमा संयमता, संवेदनशीलता, दूरदर्शिता अपनाउदै जिम्मेवार बन्न सबै पक्षलाई पापडकाे हार्दिक अपिल

 

मिति : २०८२/०५/२५

जेनजी पुस्ताको आन्दोलनबाट मुलुकमा विषम परिस्थिति उत्पन्न भएको छ । अब यसलाई सुरक्षित अवतरण गरि शान्ति र लोकतन्त्रलाई सुदृढ गर्दै लैजानुको विकल्प छैन । आन्दोलन सामान्य मागहरूमा मात्र सिमित छैनन् ।

यो परिवर्तनको गहिरो आवाज हो भन्ने हामीले बुझेका छौं । देशमा व्याप्त भ्रष्टाचार र वेथितिका विरुद्ध उठेको युवाहरूको शान्तिपूर्ण आवाजलाई दबाउन गरिएको सरकारी दमन पश्चात उत्पन्न परिस्थितिले देशको सरकारी, सार्वजनिक, निजि भौतिक पूर्वाधारको क्षतिले सामाजिक र संस्थागत संरचना ध्वस्त भएको छ।

आन्दोलनका क्रममा भएको ठूलो जनधनको क्षति प्रति पापड (PAPAD) गहिरो दुःख र चिन्ता प्रकट गर्दछौं । साथै आन्दोलनको क्रममा ज्यान गुमाएकाहरु प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौं । साथै सम्पूर्ण घाइतेहरुको निशुल्क उपचारका होस । पापड उनीहरुको शिघ्र स्वास्थ्यलाभको कामना सहित मृतक परिवारलाई उचित क्षतिपूर्तीको व्यवस्थाको लागि माग गर्दछ ।

अहिले मुलुक तरल अवस्थामा पुगेको छ । तत्काल राजनीतिक निकासको विषयमा अन्यौलता देखिएको छ । यस्तो संवेदनशील अवस्थामा यथास्थितिमा रहन दिनु उचित देखिदैन । तसर्थ, तत्काल शान्तिपूर्ण समाधानका लागि सबैधानिक, लोकतान्त्रिक, राजनीतिक र न्यायोचित संवाद र प्रक्रियाको माध्यमबाट अबको निकाश निकालिनु पर्दछ ।

जेनजी पुस्ताले उठाएको संरचनात्मक सुधारका मागहरूलाई समेटदै सर्ब स्वीकार्य लोकतान्त्रिक प्रक्रिया मार्फत उन्नत लोकतन्त्रको अभ्यासमा अगाडि बढ्नुपर्छ भन्ने विषयमा पापड (PAPAD) विश्वास गर्दछ।

यस प्रक्रियामा आवश्यक सबै प्रकारको सहयोग उपलब्ध गराउन PAPAD तत्पर रहेको व्यहोरा यसै विज्ञप्ति मार्फत आन्दोलनरत पक्ष, राज्य संयन्त्र तथा सरोकारवाला पक्षलाई जानकारी गराउँदछौ । तसर्थ, यस्तो कठिन घडिमा संयमता, संवेदनशीलता, दूरदर्शिता अपनाउदै इतिहासको यो निर्णायक मोडमा जिम्मेवार बन्न सबै पक्षलाई हार्दिक अपिल गर्दछौं।

 Download