विचार गोष्ठी तथा नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता–२०१८ पुरस्कार वितरण कार्यक्रम अायाेजना

विचार गोष्ठी तथा नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता–२०१८ पुरस्कार वितरण कार्यक्रम अायाेजना



Sep 20, 2018

नेपाल पत्रकार महासंघले आज ‘संविधान र पूर्ण प्रेस स्वतन्त्रता’ विषयमा विचार गोष्ठी सम्पन्न गर्नुका साथै नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता–२०१८ पुरस्कार, ओखलढुंगाका पत्रकार कुम्भराज राईलाई प्रदान गरेको छ । 
महासंघको सभाहलमा आयोजित कार्यक्रममा प्रतिनिधिसभाका सभामुख सम्माननीय सभामुख कृष्णबहादुर महराले पुरस्कृत पत्रकारलाई रु. दुईलाख २२ हजार २ सय बाइस रुपैयाँ बाईस पैसा राशीको चेक तथा सम्मान पत्र प्रदान गर्दै धन्यबाद व्यक्त गर्नुभएको हो ।
कार्यक्रममा सभामखु महराले भदौ १ गतेदेखि लागू भएको देवानी फौजदारी संहिता प्रेस स्वतन्त्रता प्रतिकूल रहेको विषय सरकारलाई जानकारी गराएको बताउनु भयो । उहाँले प्रेस स्वतन्त्रता प्रतिकूल हुने कानुन सरोकारवालसँगको छलफलबाट संशोधन गरिने बताउनु भयो ।
कार्यक्रममा महासंघका अध्यक्ष गोविन्द आचार्यले हालै लागू भएको देवानी फौजदारी संहिताले प्रेस स्वतन्त्रतालाई कुण्ठित पर्ने भएकोले त्यसको संशोधन नभएसम्म महासंघले विरोधका कार्यक्रम यथावत राख्ने बताउनु भयो ।
महासंघका पूर्वसभापति हरिहर विरहीले पुरस्कृत पत्रकारलाई बधाई दिँदै ग्रामीण क्षेत्रमा रहेर पत्रकारितामा क्रियाशील रहनु नेपाली पत्रकारिताका लागि खुसीको कुरा रहेको धारणा राख्नुभयो । उहाँले प्रेस स्वतन्त्रता कसैले हरण गरेर हरण गर्न नसक्ने भन्दै सबैले त्यसलाई सम्मान गर्नुपर्ने धारणा राख्नुभयो । 
कार्यक्रममा महासंघका सल्लाहकार तथा पूर्वअध्यक्ष शिव गाँउलेले नेजाले स्थापनाको उदेश्यअनुसार नै नेपाली पत्रकारितामा योगदान गरिरहेको धारणा रख्नुभयो । उहाँले नेपालको पत्रकारितामा शासकको गुनगान गाउनेलाई मात्रै सहज रहेको भन्दै स्वस्थ्य आलोचना अझै पाच्य हुननसकेको धारणा राख्नुभयो ।
नेपाल अमेरिका पत्रकार संघ (नेजा) का अध्यक्ष सुदिप पन्तले प्रवासमा रहेर पनि आफुहरु भावनात्मक रुपमा स्वदेशी पत्रकारसंगै रहेकाले पुरस्कारको स्थापना गरिएको धारणा राख्नुभयो । उहाँले नेपाली पत्रकारितालाई सहयोग गर्न नेजा सदैब तयार रहेको बताउनु भयो । 
कार्यक्रममा पुरस्कृत पत्रकार राईले ग्रामीण भेगमा रहेर पत्रकारिता गर्दाका अनुभव राख्नुभयो थियो ।