सूचनाको हकबारे अन्तरक्रिया

 सूचनाको हकबारे अन्तरक्रिया



Sep 27, 2018

असाेज ११, काठमाडाैं ।  नेपाल पत्रकार महासंघ, महिला समितिले आज सूचनाको हकबारे महिला पत्रकारको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । 
महासंघमा आयोजित कार्यक्रममा राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले जनताले तिरेको करबाट सञ्चालित निकायमा हुने गतिविधिबारे जनतालाई जानकारी दिन सूचनाको हक सम्बन्धी कानुन बनेको बताउनु भयो । उहाँले नेपाल सरकारले सूचना दिनै भनेर छुट्टै कर्मचारी नियुक्त गरेको भएता पनि सूचना दिन नजानेको भन्दै सूचना नदिने कर्मचारी विरुद्घ आयोगमा उजुरी दिन आग्रह गर्नुभयो ।


कार्यक्रममा नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले महासंघको पहलमा सूचनाको हक सम्बन्धी कानुन निर्माण भएको भन्दै त्यसको भरपुर सदुपयोग गर्नुपर्ने विचार व्यक्त गर्नु भएको छ ।
सञ्चारिका समुहकी नवनिर्वाचित अध्यक्ष नितु पण्डितले कार्यक्रमको आयोजना गरेकोमा महासंघलाई धन्यवाद दिँदै पत्रकारहरुमा सूचनाको हक सम्बन्धी व्यवस्थाको प्रयोग गर्ने प्रचलन कम रहेको भन्दै त्यसमा जोड दिन पत्रकारहरुलाई आग्रह गर्नु भएको छ । उहाँले पुरुष पत्रकारको तुलनामा महिला पत्रकारको संख्या पच्चीस प्रतिशत मात्रै रहेकोले पत्रकारितामा महिला पत्रकारको निरन्तरता आवश्यकता रहेको बताउनु भयो ।    
कार्यक्रममा महासंघकी सचिव तथा महिला समिति संयोजक लक्ष्मी पुनले पुरुष पत्रकार सरह महिला पत्रकार पनि सक्षम छन् भन्ने हेतुले कार्यक्रमको आयोजना गरिएको धारणा राख्नुभयो ।
महासंघ लेखा समिति सदस्य मिराराज भण्डारीले स्वागत मन्तव्य राख्दै महिला पत्रकारको क्षमता अभिवृद्घिका तथा सूचनाको हकको प्रयोगका लागि कार्यक्रमको आवश्यकता रहेको धारणा राख्नुभयो । 
कार्यक्रममा चलचित्र निर्माता संघकी अध्यक्ष सुचित्रा श्रेष्ठ, गोरखापत्र दैनिक प्रबन्ध सम्पादक हरिकला अधिकारी, पत्रकार रुवि श्रेष्ठ, दिपा दाहाल, शिल्पा कर्ण लगायतले सूचनाको हक सम्बन्धमा आ–आफ्नो भनाइ राख्नुभएको थियो ।

कार्यक्रममा महासंघ महिला समितिले सञ्चारिका समुहको नवनिर्वाचित कार्यसमितिलाई सम्मान गर्नुका साथै पूर्ण सफलताको शुभकामना व्यक्त गरेको छ ।