नेपाल पत्रकार महासंघको ६४औं स्थापना दिवसको अवसरमा महासंघ केन्द्रीय कार्यालयमा शुभकामना आदानप्रदान

नेपाल पत्रकार महासंघको ६४औं स्थापना दिवसको अवसरमा महासंघ केन्द्रीय कार्यालयमा शुभकामना आदानप्रदान



Mar 30, 2019

नेपाल पत्रकार महासंघको ६४औं स्थापना दिवसको अवसरमा आज महासंघ केन्द्रीय कार्यालयमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमका प्रमुख अतिथि एंव राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले न्यायपालिका र पत्रकारिता स्वतन्त्र नरहे लोकतन्त्र नै खतरामा पर्ने बताउनुभएको छ । उहाँले पत्रकारिता क्षेत्रसंग आफ्नो पनि भावनात्मक सम्बन्ध रहेको भन्दै सत्यतथ्य सूचनाको अपेक्षा राखेको बताउनुभयो ।
नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले महासंघ सदैव श्रमजीवि पत्रकार तथा प्रेस स्वतन्त्रताको पक्षमा रहेको भन्दै त्यसप्रति आफूहरु प्रतिवद्ध रहेको बताउनु भयो । 
महासंघका निवर्तमान अध्यक्ष डा.महेन्द्र विष्टले अध्ययनशील एंव सक्षम व्यक्तिहरुको आगमन भएको भन्दै बर्तमान पत्रकारितामा सम्भावनाका ढोकाहरु खुलेको बताउनुभयो । 
महासंघका पूर्व सभापति हरिहर विरहीले विगतको पत्रकारिता सरकारको जयजयकार गर्ने खालको भएतापनि आज पत्रकारिताले समग्र समाजको हितमा केन्द्रीत हुनुपर्ने धारणा राख्नुभयो ।
त्यस्तै महासंघका पूर्व उपाध्यक्ष राधा बुढाथोकिले विगतको पत्रकारिता आस्था र अनुशासनमा निष्ठा रहेको भन्दै आजका पत्रकारहरुले त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो । 
त्यस्तै महासंघका पूर्व महासचिव चन्द्र भण्डारीले निष्ठाको पत्रकारिता  गर्न आवश्यक रहेको भन्दै सबै पत्रकारहरुले एकपल्ट आत्मसमिक्षा गर्दै आजको पत्रकारितालाई जिम्मेजार तथा मर्याधित बनाउन आग्रह गर्नुभयो ।
नेपाल पत्रकार महासंघले आफ्नो ६४ औ स्थापना दिवसरका अवसरमा आफ्ना पूर्व पदाधिकारीहरु र महासंघका उत्कृष्ट शाखाहरुलाई सम्मान गरेको छ । सम्मानित हुने पूर्वपदाधिकारीहरुमा राधा बुढाथोकी (उपसभापति), चित्राङ्ग थापा (उपसभापति), चन्द्र भण्डारी (महासचिव), कर्णदेव भट्ट (उपसभापति), इश्वरचन्द्र गौतम (उपसभापति), हेमन्त कर्माचार्य (उपसभापति), तेजबहादुर भण्डारी (उपसभापति), यज्ञ शर्मा (उपसभापति), गोपाल बढाथोकी (उपसभापति), उमिद बागचन्द (उपसभापति), सञ्जय सन्तोषी राई (उपसभापति), कृष्णप्रसाद बस्याल राकेश (उपसभापति), डीआर पन्त (उपसभापति), गंगाधर पराजुली (उपसभापति), पोषण केसी (महासचिव), यशोदा तिम्सिना –उपाध्यक्ष), ओम शर्मा (महासचिव), खिलबहादुर भण्डारी –उपाध्यक्ष), अनिता बिन्दु –उपाध्यक्ष) र उजिर मगर (महासचिव) हुनुहुन्छ । 
तत्कालिन पत्रकार संघलाई महासंघमा रुपान्तरण गर्न आयोजित महाधिवेशन सम्पन्न गर्न भूमिका खेलेकोमा सुनसरी शाखा र महासंघलाई प्रत्यक्ष निर्वाचन प्रणालीमा लैजान महत्वपूर्ण भूमिका खेलेको कास्की शाखालाई सम्मान पत्र सहित पुरस्कृत गरियो । 
महासंघले आफ्नो स्थापना दिवसका अवसरमा तीन दिनसम्म विभिन्न कार्यक्रम आयोजना गरेकोे छ । चैत १३ र १४ गते मिडिया कप फुटसल प्रतियोगिताको आयोजना गरेको थियो भने १४ गते नै जोखिमपूर्ण अवस्थाको रिपोटिङ अनुभव प्रस्तुतिकरण कार्यक्रमको आयोजना गरेको थियो । 
सो अवसरमा फटसल प्रतियोगितामा प्रथम द्धितिय र तृतिय हुने क्रमश प्रेस संगठन नेपाल , नेपाल प्रेस यूनियन र इमेज च्यानलको टिमलाई ट्रफि, मेडल , नगद र प्रमाणपत्र सहित पुरस्कृत गरियो । 
सो अवसरमा महासंघका सचिवहरु रामप्रसाद दाहाल , प्रकाश थापा , लक्ष्मी पुन , रेम विश्वकर्माले महासंघको स्थापना तथा गतिविधिबारे प्रकाश पार्नु भएको थियो भने पत्रकार अर्जुन भुषालले स्वागत गीत गाउनु भएको थियो ।