महासंघद्वारा जनसरोकारको विषयमा पत्रकारिता रिपोर्टिङ तालिमको आयोजना

महासंघद्वारा जनसरोकारको विषयमा पत्रकारिता रिपोर्टिङ तालिमको आयोजना



Mar 31, 2019

चैत १७, काठमाडौं । नेपाल पत्रकार महासंघको आयोजनामा आजबाट दुईदिने जनसरोकारको विषयमा पत्रकारिता रिपोर्टिङसम्बन्धी तालिम सुरु भएको छ । 
तालिमकाे उद्घाटन गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङ्गले सहभागीहरुलाई शुभकामना दिँदै सत्यतथ्य सूचनामा ध्यान दिन आग्रह गर्नुभयो । 
नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले महासंघले पत्रकारको क्षमता अभिवृद्धिका लागि तालिमको आयोजना गरिएको बताउनु भयो । उहाँले विभिन्न समयमा महासंघले देशभरिका पत्रकार लक्षित तालिम तथा प्रशिक्षण हुने गरेको बताउनुभयो । 
कार्यक्रममा महासंघका सचिव रामप्रसाद दाहालले प्रदेश समिति तथा शाखाहरुले सिफारिस गरेका पत्रकारहरुलाई तालिममा सहभागी गराइएको जानकारी दिनुभयो ।  
तालिमका प्रशिक्षक मोहन मैनालीले पत्रकारहरुका लागि जनसरोकारका विषयमा अन्त्यन्तै न्यून तालिम हुनेगरेको भन्दै महासंघले आयोजना गरेको तालिम महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले आगामी दिनमा पनि सरकार तथा महासंघले यस्ताखाले तालिमलाई निरन्तरता दिन आग्रह गर्नुभयो । 
विभिन्न सञ्चारमाध्यममा कार्यरत पच्चीभन्दा बढी पत्रकारहरुको सहभागिता रहेको तालिम भोलि सकिने छ ।