पत्रकार कृष्ण सेन ‘इच्छुक’ को २०औं स्मृती दिवसका अवसरमा महासंघद्वारा श्रद्धाञ्जली सभा आयोजना

पत्रकार कृष्ण सेन ‘इच्छुक’ को २०औं स्मृती दिवसका अवसरमा महासंघद्वारा श्रद्धाञ्जली सभा आयोजना



May 27, 2022


जेठ १३, काठमाडौं । नेपाल पत्रकार महासंघले सहिद पत्रकार कृष्ण सेन ‘इच्छुक’ को २०औं स्मृती दिवसका अवसरमा दिवंगत पत्रकारप्रति श्रद्धाञ्जली सभा आयोजना गरेको छ । 
सञ्चारग्राममा रहेको सहिद पत्रकार स्तम्भमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले पत्रकारहरु पेशागत जिम्मेवारी पुरा गर्ने क्रममा मारिनु अत्यन्तै दुःखद भएको बताउनुभयो । उहाँले नेपालमा मारिएका तथा वेपत्ता पारिएका पत्रकारका परिवारले अझै न्याय नपाएको भन्दै दोषीलाई कानुनी कठघरामा ल्याउन सरकारसँग माग गर्नुभयो । 
महासंघका महासचिव रोसन पुरीले पत्रकारमाथि हुने हिंसाका घटनामा दण्डहिनता कायम रहेको भन्दै घटनाका दोषीलाई निशर्त कारबाही गर्नुपर्ने बताउनुभयो । 
नेपाल पत्रकार महासंघमा रहेको अभिलेखमा नेपालमा द्वन्द्वकालदेखि  हालसम्म ३८ जना पत्रकारको हत्या तथा संकास्पद मृत्यु र ४ जना पत्रकारको अवस्था वेपत्ता रहेको छ । 
कार्यक्रममा नेपाल पत्रकार महासंघका पदाधिकारी एंव सदस्यहरु, पत्रकारको संघसंगठनका प्रतिनिधि, प्रेस काउन्सिल नेपालमा प्रशासकिय अधिकृत झबिन्द्र भुषाल लगायत विभिन्न सञ्चारगृहमा कार्यरत पत्रकारले दिवंगत पत्रकारप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो ।