‘आजको पत्रकारिता : अबको पत्रकारिता’ विषयमा अन्तरक्रिया

‘आजको पत्रकारिता : अबको पत्रकारिता’ विषयमा अन्तरक्रिया



Mar 26, 2023

चैत १२, काठमाडौं । नेपाल पत्रकार महासंघ, पत्रकारिता तथा आमसञ्चार प्राज्ञिक विभागको आयोजनामा बद्लिदो परिस्थिति र सञ्चारमाध्यका विषयवस्तुका सन्दर्भमा ‘आजको पत्रकारिता ः अबको पत्रकारिता’ विषयमा अन्तरक्रिया आयोजना गरेको छ । 
कार्यक्रममा सहभागी सञ्चार विज्ञ तथा पत्रकारिता अध्ययनरत विद्यार्थीले सञ्चारमाध्यका विषयवस्तुमाथि विश्वासनियता कायम राख्न र समयअनुकूल  प्रविधिको प्रयोग गर्न जोड दिनुभएको थियो । 
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले पत्रकारिताप्रति प्रश्न उठ्नेगरेको भन्दै त्यसबाट भाग्न नसकिने बताउनुभयो । 
उहाँले सञ्चारमाध्यमका विषयवस्तुको विश्वासनियतामा प्रश्न उठ्ने गरेको भन्दै प्रश्नहरुलाई स्वीकार गरी विश्वासनियता कायम राख्नुपर्नेमा जोड दिनुभयो ।  हिजको पत्रकारिता अभ्यासका आधारमा गरिदै आएको भन्दै आज पत्रकारिताका लागि अध्ययन र प्रविधियुक्त रहेकाले पत्रकारिता पेशामा अवसर र चुनौति दुबै रहेको अध्यक्ष पोखरेलले बताउनुभयो । 

नेपाल पत्रकार महासंघका पूर्व सभापति डा.सुरेश आचार्यले पत्रकारिताले क्षेत्र पेशागत सिद्धान्तबाट विमुख हुदाँ अन्य माध्यमहरु हाबी हुन थालेको बताउनुभयो । प्रेस स्वतन्त्रताको उपभोगसंग जोडिएको विषयमा निरन्तर बहस र छलफल हुनुपर्नेमा जोड दिदै डा.आचार्यले सञ्चारमाध्यमका विषयजस्तु सामाजिक न्यायका लागि केन्द्रित हुनुपर्नेमा जोडदिनुभयो । 
महासंघका पूर्व अध्यक्ष डा.महेन्द्र विष्टले आजको पत्रकारितामा विभिन्न चुनौति थपिएको बताउनुभयो । “आजको पत्रकारितमा अवसर र चुनौति दुबै छन्,। यसलाई प्रविधि, शैली र समाज रुपान्तरणका हिसावले व्याख्या विश्लेषण गर्नुपर्छ”। डा. विष्टले बताउनुभयो । उहाँले पत्रकारितामा कमी–कमजोरीहरु रहेको भन्दै आजको पत्रकारितालाई सच्याउन सकिएन अवको पत्रकारिता नसच्चिने समेत बताउनुभयो । 
नेपाल पत्रकार महासंघका महासचिव रोसन पुरीले मुलधारको पत्रकारितामा कमी कमजोरी रहेको बताउनुभयो । उहाँले मुलधारका सञ्चारमाध्यमले सामाजिक न्यायका विषयबस्तुलाई कम स्थान दिने गरेको बताउनुभयो । उहाँले नेपाली सञ्चारमाध्यम प्रश्नहरुबाट गुज्रीरहेको भन्दै त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो । 
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले नेपाली पत्रकारिता क्षेत्रलाई समाजले कसरी हेरिरहेको छ ? यस विषयमा छलफल र समिक्षा हुनुपर्ने बताउनुभयो । उहाँले सञ्चारमाध्यमले पत्रकारितको धर्म निर्वाह गरिरहेको छ कि छैन ? भन्दै पत्रकार आचारसंहिता र सञ्चार सम्बन्धी निर्देशिका पालना नगर्ने सञ्चारमाध्यमलाई कारबाही गर्ने बताउनुभयो । 
न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष संगीता खड्काले सञ्चार क्षेत्रका विकृती विसंगती अन्त्यका लागि सञ्चार साक्षरता अभियान चलाउनुपर्ने बताउनुयो । उहाँले पत्रकारहरुले श्रमजीवी पत्रकार ऐन अनुसार पारिश्रमिक नदिने सञ्चारमाध्मलाई कारबाही गर्नुपर्नेमा जोड दिनुभयो । 

त्रिभुवन विश्वविद्यालय, आमसञ्चार तथा पत्रकारिता केन्द्रीय विभाग प्रमुख प्राध्यापक चिरञ्जीवी खनालले विगतको पत्रकारिताको तुलनामा आजको पत्रकारिता माध्यमका रुपमा मात्रै फरक रहेको बताउनुभयो । 
पत्रकारले सिक्ने सिकाउने कार्य निरन्तर जारीराख्दै परिवर्तित समयमा सूचना तथा सन्देशलाई सहज र सलर ढंगले लक्षित समुदायमा पुर्याउन ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले महासंघ लगायत सरोकार संस्थाले पत्रकारिताको क्षमता अभिवृद्धि र गलत सूचना संप्रेषण रोक्न पहलकदम लिन सुझाव दिनुभयो । 

नेपाल पत्रकार महासंघ, पत्रकारिता तथा आमसञ्चार प्राज्ञिक विभागका संयोजक शन्तराम बिडारीले सञ्चारक्षेत्रमा देखिएका समस्या पहिचान र समाधानका लागि कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँले पछिल्ला दिनमा पत्रकार तथा सञ्चारक्षेत्रप्रति प्रश्न उठ्न थालेको भन्दै पत्रकार तथा सञ्चारमाध्यमले आत्मालोचना गर्दै सञ्चारमाध्यमका विषयवस्तुको विश्वासनियतामा ध्यान दिनुपर्ने बताउनुभयो । 
कार्यक्रममा पत्रकारिता अध्ययनरत विद्यार्थी तथा पत्रकार साथै सरोकारवालाहरुले आफ्नो अनुभव, प्रश्न र जिज्ञासा राख्नुभएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ, लेखा समिति संयोजक लेखनाथ न्यौपाने, केन्द्रीय सदस्यहरु रामकृष्ण अधिकारी, ज्ञानप्रसाद पौडेल, नविन रिजाल, प्रकाश धौलाकोटी लगायतको उपस्थिति रहेको थियो ।  
कार्यक्रमको सहजीकरण महासंघका केन्द्रीय सदस्य सुभाष प्रसाद साहले गर्नुभएको थियो ।