महासंघ ललितपुरका संस्थापक अध्यक्ष शाक्यको निधन

२०७४।०१।२७

नेपाल पत्रकार महासंघ ललितपुर जिल्ला शाखाका संस्थापक अध्यक्ष एवं केन्द्रीय पार्षद वरिष्ठ पत्रकार धर्मरत्न शाक्यको ८६ वर्षको उमेरमा हिजो अपरान्ह पाटनढोकास्थित आफ्नै निवासमा निधन भएको खवरले नेपाल पत्रकार महासंघ मर्माहत भएको छ । वि.सं. २००६ सालदेखि पत्रकारिता गर्दै आउनु भएका शाक्य २०४९ देखि २०५३ सम्म नेपाल पत्रकार महासंघ ललितपुर शाखा अध्यक्ष हुनुहुन्थ्यो । स्वर्गीय शाक्यका तीन छोरा हुनुहुन्छ ।

स्वर्गीय शाक्यको ललितपुरको शंखमुल घाटमा आज अन्तिम दाहसंस्कार गरिएको छ । त्यसअघि आजै विहान उहाँको निवासमा आयोजित संक्षिप्त श्रद्धाञ्जली सभामा नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्ट र महासंघ ललितपुर शाखा अध्यक्ष ज्ञानप्रसाद पौडेलले स्वर्गीय शाक्यको पार्थिव शरीरमा महासंघको झण्डा ओडाई सम्मान प्रकट गर्नुभएको थियो । सो अवसरमा सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीका साथै राजनीतिक दलका नेता तथा पत्रकारहरुले पुष्पगुच्छा चढाई श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो ।

उहाँको निधनले नेपाली पत्रकारिता जगतले एक सिद्धान्तनिष्ठ, व्यावसायिक पत्रकार र महासंघले सक्रिय अभिभावक गुमाएको छ । महासंघ स्वर्गीय शाक्यप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दुःखको यस घडीमा शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछ ।

ध्रुव लम्साल
सचिव