पत्रकारहरुलाई भौतिक कारबाहीको धम्की दिएको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण

मितिः २०७८।०१।११

प्रकाशित समाचारको विषयलाई लिएर नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सदस्यसमेत रहेका तरुण खबर डटकम अनलाइनका सल्लाहकार सम्पादक परशु घिमिरे, पत्रकार कालिका महत र कुमार राउतलाई केही व्यक्तिहरूले भौतिक कारबाहीको धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

केही दिनअघि उक्त अनलाईनमा प्रकाशित समाचारलाई लिएर पत्रकारत्रयलाई धम्की आएपछि सो समाचारको खण्डनसमेत प्रकाशित भैसकेको थियो । खण्डन प्रकाशित भैसकेको अवस्थामा पनि पुनः ती व्यक्तिहरुबाट कार्यालयमै गएर पटकपटक पत्रकारहरुलाई धम्क्याएको महासंघ काठमाडौं शाखाले जनाएको छ ।

प्रकाशित समाचारप्रति चित्त नबुझे या गुनासो भए त्यसउपर कानुनी प्रक्रिया जान सकिने प्रावधान हुँदाहुँदै पत्रकारलाई भौतिक कारबाहीको धम्की दिनु निन्दनीय र प्रेसविरोधी काम हो । महासंघ पत्रकारलाई धम्क्याउने व्यक्तिहरुको तत्काल पहिचान गरी कानुनी दायरामा ल्याउन र पत्रकारलाई सुरक्षाको प्रत्याभूति दिलाउन सम्बन्धित निकायसँग माग गर्दछ ।

 

 रोसन पुरी

 महासचिव

 Download