महासंघ च्यानल नेपाल प्रतिष्ठान शाखाका अध्यक्ष शान्तिराम कार्कीको कोरोना संक्रमणका कारण निधन : महासंघ स्तब्ध र दुःखी

 

मिति : २०७८।०२।०२

नेपाल पत्रकार महासंघ च्यानल नेपाल प्रतिष्ठान शाखाका अध्यक्ष शान्तिराम कार्कीको कोरोना संक्रमणका कारण ३४ वर्षको अल्पायुमै भएको असामयिक निधनको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध र दुःखी भएको छ ।

वैशाख १९ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिनदेखि काठमाडौंको स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचार भइरहेको कार्कीको स्वास्थ्यमा थप समस्या आएपछि वैशाख २३ गतेदेखि भेन्टिलेटरमा राखी उपचार भइरहेको थियो । १४ दिनदेखि उपचाररत कार्कीको शनिबार साँझ ८:०० बजे उपचारको क्रममा निधन भएको हो ।

झापाको साविक दोरामारी गाविस निवासी कार्की विगत डेढ दशकदेखि काठमाडौंमा रही पत्रकारितामा सक्रिय हुनुहुन्थ्यो । महासंघ च्यानल नेपाल शाखाको हालसमेत तीन कार्यकालअध्यक्ष भएका कार्की प्रेस चौतारी नेपालको पनि केन्द्रीय सदस्य हुनुहुन्थ्यो । च्यानलनेपाल टेलिभिजनमा लामो समय समाचार प्रमुख भएर काम गर्नुभएका कार्की पछिल्लो समय जनताटाइम्स अनलाइनमा सम्पादकको र सौर्य दैनिकमा सहसम्पादकको जिम्मेवारी वहन गर्दै आउनुभएकोथियो । उहाँको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल, उर्जाशील र जुझारु युवा पत्रकार गुमाएको छ ।

महासंघ स्वर्गीय पत्रकार कार्कीप्रति हार्दिक श्रद्धाञ्जली अर्पणगर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा महासंघ शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामनासहित गहिरो समवेदना व्यक्त गर्दछ ।

कोरोनाकै कारण हालसम्म १३ जना पत्रकारको निधन भएको छ भने ७ सय ५०भन्दा बढी पत्रकार संक्रमित भएका छन् । पछिल्लो केही दिनयता कोरोना संक्रमणको दर बढिरहेकोछ । कोरोना संक्रमणको चुनौतीपूर्ण यो अवस्थामा महासंघ सम्भावित जोखिमको ख्याल गरी सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपायहरु अवलम्बन गर्दै पेशागत कर्ममा जुट्न सबै पत्रकारमा अपिल गर्दछ ।

 

रोसन पुरी

महासचिव

 Download