कोरोना संक्रमणका कारण पत्रकार न्यौपानेको निधन: महासंघ स्तब्ध र दुःखी

 

मिति : २०७८।०२।१४

नेपाल पत्रकार महासंघको एसोसिएट संस्था नेपाल पर्यटन पत्रकार मञ्चका सदस्य तथा निजी रेडियोहरुको छाता संस्था ब्रोडकाष्टिङ एसोसिएसन अफ नेपाल (बान) का अध्यक्ष चन्द्रप्रसाद न्यौपानेको कोरोना संक्रमणका कारण ४७ वर्षको उमेरमा भएको असामयिक निधनको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध र दुःखी भएको छ ।

कोरोना संक्रमण पुष्टि भएपछि १८ दिनदेखि विराटनगरको विराट मेडिकल कलेजमा उपचाररत न्यौपानेको स्वास्थ्यमा थप समस्या आएपछि केही दिनदेखि भेन्टिलेटरमा राखी उपचार भैरहेकोमा आज बिहान उपचारकै क्रममा निधन भएको हो । स्वर्गीय न्यौपानेका श्रीमती, एक छोरा र एक छोरी छन् ।

इटहरीस्थित सप्तकोशी एफएमका सञ्चालक तथा स्टेसन म्यानेजर रहेका न्योपौने नेपाल विज्ञापन बोर्डको सदस्यसमेत हुनुहुन्थ्यो । नेपालमा एफएम रेडियोको संस्थागत विकासका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनु भएका न्यौपानेको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल, उर्जाशील र अनुभवी पत्रकार गुमाएको छ ।

महासंघ स्वर्गीय पत्रकार न्यौपानेप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा महासंघ शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामनासहित गहिरो समवेदना व्यक्त गर्दछ ।

कोरोनाकै कारण हालसम्म १७ जना पत्रकारको निधन भएको छ भने ८ सयभन्दा बढी पत्रकार संक्रमित भएका छन् । पछिल्लो केही दिनयता कोरोना संक्रमणको दर बढिरहेको छ । कोरोना संक्रमणको चुनौतीपूर्ण यो अवस्थामा महासंघ सम्भावित जोखिमको ख्याल गरी सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपायहरु अवलम्बन गर्दै पेशागत कर्ममा जुट्न सबै पत्रकारमा अपिल गर्दछ ।

रोसन पुरी

महासचिव

 Download