बागमती प्रदेश सरकारले आफैंले सञ्चारमाध्यम सञ्चालन गर्ने तयारी गरेकोमा महासंघको आपत्ति
मितिः २०७८।०३।०७
कुनै पनि तहका सरकारले सञ्चारमाध्यम सञ्चालन गर्न नहुने र सरकारको नियन्त्रणमा रहेको सञ्चारमाध्यमलाई पनि स्वायत्त र स्वतन्त्र बनाउनु पर्नेमा बागमती प्रदेश सरकारले आफैंले सञ्चारमाध्यम सञ्चालन गर्ने तयारी गरेकोमा नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।
 
महासंघले पटक पटक ध्यानाकर्षण गराए पनि बागमती प्रदेश सरकारले २०७८/०७९ को बजेटमार्फत आफैं सञ्चारमाध्यम सञ्चालन गर्नेगरी बजेट विनियोजन गरेको निणर्य तत्काल फिर्ता लिन महासंघ जोडदार माग गर्दछ ।
 
प्रदेश सरकार आफैंले सञ्चारमाध्यम सञ्चालन गर्दा यसले नागरिकको विचारलाई नियन्त्रण गर्ने, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित बनाउने एवं स्वतन्त्र पत्रकारिताको मान्यता र भावनाविरुद्ध हुने महासंघको ठहर छ ।
 
लोकतन्त्रको मूल्य मान्यताको उपहास हुनेगरी बागमती प्रदेश सरकारले गरेको यो निणर्यले नीजि र सामुदायिक स्तरबाट सञ्चालित सञ्चारमाध्यमलाई धरासायी बनाउने, स्वतन्त्र प्रेस र नागरिकका आवाजहरुलाई दबाउने उद्देश्य रहेको प्रष्ट छ ।
 
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित बनाउने र नियन्त्रित सूचना सम्प्रेषण गर्नेगरी सञ्चारमाध्यम सञ्चालनका लागि बजेट विनियोजन गरिएकोमा महासंघ यसको कडा शब्दमा भर्त्सना गर्दै आपत्ति प्रकट गर्दछ ।
 
महासंघ प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता एवं पत्रकारिताको मर्म र भावनाविरुद्ध रहेको यो निणर्य तत्काल फिर्ता लिन सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँदछ । अन्यथा यसविरुद्ध कडा रुपमा जान बाध्य हुने जानकारी गराउँदछ ।
 
रोसन पुरी
महासचिव

 Download