प्रहरीसहितको संलग्नतामा पत्रकारको मोटरसाइकलमा लागुऔषध राखेर पत्रकार पक्राउ गरिएको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण

मिति : २०७८।०५।०६

रौतहटस्थित होटेल ग्रीन सिग्नल अगाडि रोकी राखेको रौतहटबाट सञ्चालित रौतहट एक्सप्रेसका सञ्चालक पत्रकार महम्मद मोजिबुल्लाहको मोटरसाइकलमा प्रहरीसहितको संलग्नतामा प्रतिबन्धित नाइट्रोभेट टेबलेट लागुऔषध राखेर पत्रकार मोजिबुल्लाहसहित उनका चालकलाई पक्राउ गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

महासंघ रौतहट शाखाका अनुसार २०७८ साउन ३२ गते राति ८ः०० बजेतिर होटेल ग्रीन सिग्नल अगाडि रोकी राखेको पत्रकार मोजिबुल्लाहको मोटरसाइकलमा अपराध अनुसन्धानमा खटिएका नेपाल प्रहरीका घुमुवा प्रहरी सहायक निरीक्षक उदयप्रसाद यादव, प्रहरी जवान मनोज साहलगायकतका घुमुवा प्रहरी र अन्य बाहिरी व्यक्तिहरूको संलग्नतामा उक्त लागुऔषध राखिएको सिसिटिभी फुटेजमा देखिएको जनाएको छ ।

देशमा अपराध नियन्त्रण गर्ने र नागरिकको जिउधनको सुरक्षा गर्नेजस्ता कार्यमा खटिएका प्रहरीजस्तो जिम्मेवार निकायबाट यस किसिमको कार्य हुनु अत्यन्त दुःखद् र निन्दनीय कार्य हो । प्रहरीको यस्तो कार्यबाट आमनागरिकमा प्रहरीप्रतिको विश्वासमा आघात पुग्नका साथै कानुनी राज्यको समेत उपहास भएको महासंघ ठहर छ । महासंघ घटनाको छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न र सिसिटिभी फुटेजबाट निर्दोष देखिएका पत्रकार मोजिबुल्लाहसहित उनका चालकलाई तत्काल रिहा गर्न सम्बन्धित निकायसँग माग गर्दछ ।

रोसन पुरी

महासचिव

No photo description available.