नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्रीसँग भेट 

नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्रीसँग भेट 



Oct 18, 2020

 

कात्तिक २, काठमाडौं । नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङसँग आज नेपाल पत्रकार महासंघको उपलब्ध पदाधिकारीले भेटघाट गरेको छ । मन्त्री निवास पुल्चोकमा भएको भेटमा महासंघको प्रतिनिधिमण्डलले सञ्चारमन्त्री गुरुङलाई हार्दिक बधाई तथा सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्दै सञ्चार क्षेत्रमा विद्यमान समस्या समाधानका लागि सरकारबाट हुनुपर्ने पहलहरुवारे महासंघको धारणा प्रस्तुत गरेको छ । 
प्रतिनिधिमण्डलले सञ्चार क्षेत्रका समस्या समाधानका लागि सरकार, श्रमजीवी पत्रकार र मिडिया संचालकहरुबीच गम्भीर छलफल र आपसी सहकार्य हुनुपर्ने स्पष्ट पार्दै श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन, आम सञ्चार नीति २०७३ अनुरुप कानून र संरचना निर्माण, संचार क्षेत्रमा पुनर्संरचना गरी संघीयता र समावेशिताको कार्यान्वयन एवम् कोभिड १९ का कारण सञ्चार क्षेत्रमा सिर्जित समस्या समाधान लगायतका विषयमा धारणा प्रस्तुत गरेको थियो ।
सो अवसरमा मन्त्री गुरुङले महासंघसहितका सरोकार पक्षसँग छलफल र सहकार्य गरेर आफू अघि बढ्ने जानकारी दिँदै महासंघले प्रस्तुत गरेका विषयप्रति आफू सकारात्मक रहेको बताउनु भयो । उहाँले सञ्चार क्षेत्रको हित हुनेगरी सञ्चार सम्वन्धी नीति, कानून निर्माण गरिने वताउँदै प्रेस स्वतन्त्रताको संरक्षण र प्रवद्र्धन, स्वतन्त्र प्रेसको व्यावसायिक र संस्थागत विकास एवम् पत्रकारको पेशागत हितका पक्षमा आफू सदैव अडिग रहने स्पष्ट पार्नु भयो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री नियुक्त भएपछि सबैभन्दा पहिले संस्थागतरुपमा पत्रकार महासंघसँग भेटेर सुझाव ग्रहण गर्नुभएकोमा मन्त्री गुरुङप्रति महासंघले हार्दिक कृतज्ञता प्रकट गरेको छ ।