आयोग–महासंघ भेट : संकटमा सहकार्य गर्ने सहमति  

आयोग–महासंघ भेट : संकटमा सहकार्य गर्ने सहमति  



May 21, 2021



जेठ ७, काठमाडौं ।  नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेल र राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष टोप बहादुर मगर बिच ‘संकटका बेला मानव अधिकार सम्बन्धी पत्रकारिता तालिम’ संचालन गर्ने विषयमा छलफल भएको छ । 
छलफलमा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष टोप बहादुर मगरले सबै खाले मानव अधिकार हननका घटना हुन नदिन आयोग प्रतिवद्ध रहेको बताउनुभयो । उहाँले मानव अधिकार हननका घटना सम्बन्धी समाचार सम्प्रेशण गर्न पत्रकारका लागि आवश्यक तालिम संचालनमा महासंघसंग सहकार्य गर्न आयोग तयार रहेको बताउनुभयो । 
नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले संकटका समयमा मानव अधिकार हननका घटना बढि हुनसक्ने त्यस्ता घटनालाई बाहिर ल्याउन र तत्काल समाधान गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले संकटका बेलामा मानव अधिकारको संरक्षका लागि पत्रकारिता क्षेत्रबाट भूमिका खल्नुपर्ने बताउदै त्यसका लागि आवश्यक पाठ्यक्रम निर्माण गरी पत्रकारलाई प्रशिक्षित गर्ने योजनामा सहकार्य गर्न आयोगलाई आग्रह गर्नुभयो ।  
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगले निर्माण गरेको “अभिव्यक्ति स्वतन्त्रता संरक्षणका लागि सुरक्षा संयन्त्र गठन तथा कार्यविधि सम्बन्धी निर्देशिका, २०७५” अनुसार अभिव्यक्ति स्वतन्त्रता सम्बन्धी संयन्त्र निर्माणका लागि थप छलफल अगाडी बढाउने सहमति पनि भएको थियो ।