सञ्चारसंवद्ध संघसंगठन र अधिकारकर्मीसँग अन्तरक्रिया

 सञ्चारसंवद्ध संघसंगठन र अधिकारकर्मीसँग अन्तरक्रिया



Apr 20, 2022

बैशाख ७, काठमाडाैं । कान्तिपुर टेलिभिजनमा कार्यरत श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक, बिनाकारण कामबाट निष्काशन गरिएका पत्रकारको पुनर्बहाली लगायतको माग राखेर आन्दोलनरत नेपाल पत्रकार महासंघले सञ्चारसंवद्ध संघसंगठन र अधिकारकर्मीसँग अन्तरक्रिया आयोजना गरेको छ । 
कार्यक्रममा पत्रकार दीपा दाहालले विगतमा कान्तिपुर रेडियोमा काम गर्दा आफुमाथि भएको यौनजन्य हिंसा र सोही घटनालाई आधार बनाएर आफूलाई कान्तिपुर टेलिभिजनबाट निकालिएको दाबी गर्नुभयो ।   
नेपाल पत्रकार महासंघमा भएको कार्यक्रममा उपस्थित सहभागीले पत्रकार दीपा दाहाल लगायतको न्यायका लागि महासंघले गरेको आन्दोलनप्रति ऐक्यवद्धता व्यक्त गर्दै आन्दोलनमा साथ रहने प्रतिवद्धता जनाउनुभयो । 
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले टुंगोमा नपुग्दासम्म पत्रकारको श्रम अधिकारका लागि महासंघ लडिरहने बताउनुभयो । उहाँले पत्रकार दीपा दाहाल लगायतको श्रमसम्बन्धी समस्या समाधान गर्न पटकपटक पत्राचार गर्दा समेत चासो नदिएका कारण मुद्दा किनारा नलाग्दासम्म आन्दोलन नरोकिने बताउनुभयो ।
महिला मानवअधिकार रक्षकहरुको राष्टिय सञ्जाल एवं ओरेकका अध्यक्ष डा.रेणु अधिकारीले पत्रकार दीपा दाहालको घटनालाई प्रतिशोधका रुपमा नभएर पत्रकार महिलालाई न्याय दिलाउने गरी स्थापित गर्न आग्रह गर्नुभयो । 
महासंघका उपाध्यक्ष उदय जीएमले श्रमजीवी पत्रकारको मुद्दाका सवालमा महासंघ एक्लै नभएको भन्दै यो आन्दोलनले पत्रकारलाई न्याय दिलाएर छोड्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।   
महासंघका महासचिव रोसन पुरीले सरकारबाट श्रमजीवी पत्रकारका नाममा सहुलियतपूर्ण ऋण लिने सवालमा कान्तिपुर मिडिया ग्रुप सबैभन्दा अगाडि भएपनि श्रमजीवी पत्रकारप्रति असहिष्णु रहेको बताउनुुभयो । उहाँले कान्तिपुर मिडियामा रहेको समस्या हल नहुँदासम्म  महासंघको आन्दोलन नरोकिने बताउनुभयो । 
नेपाल प्रेस यूनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले पत्रकार महिलामाथि कार्य क्षेत्रमा हुने सबैखाले हिंसाका विरुद्ध एकजुट हुनुपर्ने बताउनुभयो । प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाले महासंघले श्रमजीवी पत्रकारको सवालमा महासंघले थालेको आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै सडकमै जान पनि आफ्नो संगठन पछाडि नहट्ने उल्लेख गर्नुभयो ।
समाजवादी प्रेस संगठनका वरिष्ठ उपाध्यक्ष विश्वमणि सुवेदीले आफ्नो संगठनले पीडित पत्रकारहरुको न्यायका लागि महासंघलाई सदैव साथ दिने प्रतिवद्धता जनाउनुभयो । 
नेपाल पत्रकार महासंघका पूर्वउपाध्यक्ष तथा पूर्व सूचना आयुक्त यशोदा तिम्सिनाले पत्रकार न्याय नपाउँदासम्म महासंघले आन्दोलन रोक्न नहुने भन्दै सम्बन्धित मिडियाका नेतृत्वकर्ताहरुसँगै महासंघले छलफल चलाउनुपर्नेमा जोड दिनुभयो । 
कार्यक्रममा प्रेस संगठन नेपालका केन्द्रीय सदस्य आस्था केसी, प्रगतिशिल पत्रकार संघका पूर्वअध्यक्ष नारायण शर्मा, लोकतान्त्रिक छापामाध्यम राष्ट्रिय समाजका अध्यक्ष दामोेदर दवाडी, मधेशी पत्रकार समाजका अध्यक्ष मोहन सिंह, डब्लुडब्लुजेका अध्यक्ष संगीता लामा, फोनिजका अध्यक्ष गजुरधन राई, सञ्चारिक समूहका महासचिव बसन्ती बास्तोला, पूर्व कान्तिपुरकर्मी पुनम पौडेल लगायतले महासंघको आन्दोलनप्रति ऐक्यवद्धता व्यक्त गर्नुभएको थियो । उहाँहरुले श्रमजीवी पत्रकारहरुको श्रमअधिकारका लागि महासंघको आन्दोलनमा सदैव साथ दिने प्रतिवद्धता पनि व्यक्त गर्नुभएको थियो ।