सम्पादकसँग अन्तरक्रियाः पत्रकार आचारसंहिता कार्यान्वयनमा जोड

 सम्पादकसँग अन्तरक्रियाः पत्रकार आचारसंहिता कार्यान्वयनमा जोड



Aug 16, 2022

सुर्खेेत। नेपाल पत्रकार महासंघ सुर्खेत शाखाले जिल्लास्थित सम्पादकहरुसँग मंगलबार (आज)अन्तरक्रिया कार्यक्रम गरेको छ। मिडियाले उठाउनुपर्ने समसामयिक मुद्दाहरु, मोफसलको पत्रकारिताका चुनौती र समाधानका उपाय, आचारसंहिता कार्यान्वयनको अवस्था लगायतका विविध विषयमा छलफलका लागि अन्तरक्रिया कार्यक्रम गरिएको हो। कार्यक्रमका सहभागीहरुले पत्रकार आचारसंहिता कार्यान्वयनमा जोड दिएका छन्। व्यावसायिक पत्रकारीतालाई थप प्रोत्साहन गर्न आचारसंहिता कार्यान्वयन नै महत्वपूर्ण रहेको बताइएको छ।

अन्तरक्रिया कार्यक्रममा पत्रकार आचारसंहिता कार्यान्वयनको अवस्था, लैङ्गिकमैत्री समाचार कक्ष निर्माण, सेल्फ सेन्सरशीप र प्रेस स्वतन्त्रता, मिडियाले उठाउनुपर्ने समसामयिक मुद्दा र मोफसलको पत्रकारिताका चुनौती र समाधानका उपाय लगायतका विषयमा छलफल गरिएको थियो। कार्यक्रममा महासंघका केन्द्रीय कोषाध्यक्ष कलेन्द्र सेजुवाल र केन्द्रीय सदस्य दिपेन्द्र शर्मा,  महासंघ सुर्खेत जिल्ला शाखा अध्यक्ष ललित बसेल सहित जिल्लास्थित पत्रिका, रेडियो, टेलिभिजन र अनलाईन सञ्चारमाध्यामका सम्पादकहरुको सहभागिता रहेको थियो। केन्द्रीय कोषाध्यक्ष सेजुवालले सम्पादकको महत्व, भूमिका र क्षेत्रका विषयमा जानकारी गराएका थिए। उनले मोफसलको पत्रकारीतामा गुनासो सुन्नुपर्ने अवस्था नआएको बताए। हाम्रो नयाँ नेपाल दैनिकका सम्पादक गणेश कन्चन भारतीले सम्पादक र संवाददाताबीच देखिने सम्बन्ध सुमधुर बनाउन जोड दिनुपर्ने बताए।

उनले मिडियाको संस्थागत विकासका लागि अन्य प्रदेशका सरकारी निकायले सहयोग गरेपनि कर्णालीमा असहयोग भैरहेको बताए। उनले आफ्नो मिडिया हाउसमा आवद्ध कर्मचारी तथा पत्रकारहरुलाई सुत्केरी बिदा दिने गरेको जानकारी दिए। उनका अनुसार ४ जना महिला पत्रकारले ३÷३ महिना सुत्केरी विदा पाएका छन्। सुनगाभा टेलिभिजनका सम्पादक ललित गाहाले टेलिभिजन पत्रकारीताका लागि सुर्खेतमा दक्षम जनशक्तिको अभाव भैरहेको बताए। उनले समाचार तथा कार्यक्रम प्रस्तोताका लागि जनशक्ति अभाव झेल्नुपरेको बताए। साझा विसौनी दैनिकका सम्पादक विनोद शाहीले निर्वाचन आचारसंहितामै अन्यौल देखिँदा त्यसको कार्यान्वयनमा समेत चुनौती देखिएको बताए। ‘मोफसलको मिडिया र मोफसलमा काम गर्ने भन्ने छ। कन्टेनमा चुतौती छ।

आर्थिक रूपमा श्रम शोषण छैन कि जस्तो लाग्छ।’ शाहीले भने, ‘दक्ष जनशक्ति उत्पादन कहाँबाट हुने ? तर अभाव छ। दक्षता हासिल कहाँबाट हो ? चुनौती भोगिराछौं। कन्टेनमा छल्फल गर्छौ। मेन न्यूज कम्तीमा आफै गर्ने हो। सबै आफै उत्पादन गर्न सकिएको छैन। नियमित आर्टिकल जनशक्ति छैन। लगानी पारिश्रमिक दिन सकिएको छैन।’ काँक्रेविहार दैनिकका सम्पादक सुशीलराज शर्माले पत्रकारीतालाई व्यावसायिक बनाउन अभ्यास भैरहेको बताए। ‘आचारसंहिता कार्यान्वयन भएको छ। त्यस्तो छैन। निर्वाचन आचारसंहिताको विषयमा अछुत रहन सकेनन् होला तर, खुल्ला देखिने गरि भएनन्।

सम्पादकको रूपमा चुनौती छन्।’ शिलापेपर डट कमका सम्पादक नविन शाहीले पत्रकार आचारसंहिता कार्यान्वयनका लागि पत्रकारहरुकै आचरणमा सुधार ल्याउनुपर्ने बताए। रेडियो भेरीका सम्पादक केशव ढकालले आचारसंहिता जानेर पनि बेलाबखत उलंघन भैरहेको बताए। मिडिया व्यवस्थापन महत्वपूर्ण भएकोले त्यसमा गम्भिर हुनुपर्ने उनले बताए। ‘चुनौती सबैतिर छ। मिडिया व्यवस्थापन महत्त्वपूर्ण हो। यसमा त्यति गम्भीर भएको देखिदैन। श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गर्न पर्छ। त्यसका लागि महासंघले समन्वय गरोस्।’ स्काइ न्यूज दैनिकका सम्पादक आकाशतारा बयकले मूलधारका मिडियाबाट आचारसंहिता उल्लंघन हुने गरेको बताए। युग आव्हान दैनिकका सम्पादक दिपक बुढाले सामाजिक मुद्दाहरुमा सम्पादकहरुबीच ऐक्यवद्धता हुनुपर्ने बताए।

उनले सरकारी निकायबाट पत्रकारहरुको सामाजिक सुरक्षा कोषमा समावेश गरिदनका लागि पहल गरिदिन आग्रह गरे। फरकबाटो डट कमका सम्पादक सीता ओलीले समावेशी कार्यस्थलको चुनौती देखिएको बताईन्। ‘समावेशी कार्यस्थलको चुनौती छ। श्रोत छैन कहाँबाट खोज्ने ? सानो मिडिया भएकोले सस्टेन गर्नै गाह्रो छ।’ ओलीले भनिन्। होस्टखबर डट कमका सम्पादक भानुभक्त अधिकारीले सम्पादक समाचार कक्षको मेनेजर पनि भएको बताए। ‘व्यावसायिकता र राजनीति फरक हो। हामीले छुट्याउन सकेनौ। आस्था बोकेर समाचार कक्षमा पस्छौ। व्यावसायिकताको लागि आस्था छोड्ने हैन प्रतिवद्व त हुन पर्छ।’ उनले भने। सुर्खेतपत्र दैनिकका सम्पादक ललित बसेलले पत्रकारीतामा लैंगिक विभेद नभएको जिकीर गरे। उनले विभेदका विषयमा केही प्रसंग उठेपनि तत्काल व्यवस्थापन भएको बताए।