समावेशीकरण नीति कार्यान्वयन गर्न जरुरी

समावेशीकरण नीति कार्यान्वयन गर्न जरुरी



Jul 4, 2018

नेपाल पत्रकार महासंघ समावेशी समितिले मिडियामा समावेशीकरण सम्बन्धी छलफल कार्यक्रम आयोजना गर्याे । २०७५ साल असार १९ गते काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले महासंघ समावेशी ढंगले अघि बढेको बताउँदै मिडियाको सामग्री, समाचार कक्ष र सम्पादकीय समूहमा पनि समावेशीकरण हुनु पर्नेमा जोड दिनुभयो । पत्रकार महासंघका उपाध्यक्ष दिलिप थापा मगरले मिडियामा जनशक्ति र सामग्री दुवैमा थप समावेशीकरणका लागि महासंघले सक्रिय भूमिका निर्वाह गर्ने बताउनुभयो । कार्यक्रममा प्रस्तुति गर्दै कान्तिपुर पब्लिकेसन्सका अनलाइन सम्पादक खिम घलेले नीति र ऐनमा समावेशी भएपनि समाचार कक्ष र सामग्रीमा अझै समावेशीता हुन नसकेको बताउनुभयो । उहाँले पहिलेको तुलनामा सुधार भएपनि राज्यपक्ष, मिडिया र विभिन्न संगठनले अझै धेरै काम गर्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । मिडिया र जेन्डर विज्ञ शुभेच्छा विन्दुले नेपाली मिडिया र त्यसमा समावेश हुने विषयवस्तुमा लैंगिक समानता नरहेको बताउनुभयो । उहाँले मिडियाले सकारात्मक विभेदको नीतिलाई अंगिकार गर्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । कान्तिपुर दैनिकका ओपेड सम्पादक ध्रुव सिम्खडा, नेपाल आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष डण्ड गुरुङ, सञ्चारिका समूहको उपाध्यक्ष नितु पण्डित लगायतले पहिले भन्दा मिडियामा समावेशी बढेको बताउँदै समावेशी बढाउनका लागि सो क्षेत्रका व्यक्ति तथा विभिन्न संघसंस्थाहरुले भूमिका निर्वाह गर्नु पर्ने बताउनु भयो । कार्यक्रम इन्टनरनेशनलअलर्ट सँगको सहकार्यमा आयोजना गरिएको थियो ।