पारिश्रमिक नपाएका कारण पत्रकारले आत्महत्या गर्नु महासंघका लागि अत्यन्त पीडादायी घटना

 

मिति : २०७४।११।२८

बझाङका पत्रकार गोविन्द बोहोरा र अछामका पत्रकार खकेन्द्र परियारले आत्महत्या गरेको खबरले नेपाल पत्रकार महासंघ स्तब्ध भएको छ । दुर्गम जिल्लामा स्रोत र साधनको अभावमा पत्रकारिता गर्नु कठिन र चुनौतीपूर्ण छ ।  नागरिकलाई सूचना प्रवाह गर्ने संकल्पका साथ पत्रकारितामा क्रियाशील पत्रकारको निधनले नेपाली पत्रकारिता क्षेत्रमा क्षति पुगेको छ । महासंघ दिवंगत पत्रकारद्वयप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ ।
महासंघले गरेको प्रारम्भिक अध्ययनअनुसार पत्रकारद्वयले चरम आर्थिक अभावका कराण आत्महत्या गरेको हुन् । आर्थिक अवस्था कमजोर भएका तथा पारिश्रमिक नपाएका कारण पत्रकारले आत्महत्या गर्नु महासंघका लागि अत्यन्त पीडादायी घटना हो । 
महासंघ श्रमजीवी पत्रकार ऐनले व्यवस्था गरे बमोजिम सेवा सुविधा पाउनुपर्छ भन्ने पक्षमा दृढताका साथ उभिएको छ । महासंघ श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन र पत्रकारको आर्थिक दुरावस्था अन्त्य गर्न राज्य र सञ्चारमाध्यमको गम्भीर ध्यानाकर्षण गराउँदछ । साथै, ऐन पूर्ण कार्यान्वयनका लागि महासंघ अझ सशक्त र दबाबमूलक ढंगबाट अघि बढ्ने स्पष्ट पार्दछ ।

    रमेश विष्ट
    महासचिव

 Download