पत्रकार खड्काको खोजी कार्यलाई प्रभावकारी बनाउन माग

मिति ः २०७५।०५।१३
विगत चार दिनदेखि बेपत्ताको अवस्थामा रहेका नेपाल पत्रकार महासंघ डोटी शाखाका सदस्य एवं बाजुरास्थित रेडियो बुढीनन्दामा कार्यरत पत्रकार तेजबहादुर खड्काको खोजी कार्यका लागि नेपाल पत्रकार महासंघले स्थानीय निकाय, प्रदेश सरकार एवं विभिन्न सुरक्षा निकाय र सरकारसँग निरन्तर आग्रह र पहल गर्दै आएको छ । हालसम्म पनि पत्रकार खड्काको खोजीमा सरकार गम्भीर नभएकोमा नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

भाद्र १० गते करिव १४ हजार फिट उचाइमा रहेको बाजुरास्थित बुढीनन्दा तिर्थस्थलबाट फर्किने क्रममा पत्रकार खड्का सम्पर्कविहीन भएका हुन् । चार दिन बितिसक्दा पनि पत्रकार खड्काको अवस्थाका बारेमा कुनै जानकारी प्राप्त नहुँदा महासंघ गम्भीर र दुःखी भएको छ । महासंघ बेपत्ता भएका पत्रकार खड्काको खोजी कार्यमा तदारुकता देखाई उहाँको अवस्था तत्काल पत्ता लगाउन सरकारसँग जोडदार माग गर्दछ ।

साथै, बेपत्ता अवस्थामा रहेका पत्रकार खड्काको खोजी कार्यमा सहयोग गर्न मानवअधिकारकर्मी, नागरिक समाज, सञ्चारकर्मी र सञ्चारसम्वद्ध संघसंस्थाका साथै सबैमा महासंघ आहृवान गर्दछ ।

....................
रमेश विष्ट
महासचिव

 Download