मितिः २०७७।०१।०३
नेपाल पत्रकार महासंघका सदस्य तथा नागरिक दैनिकका पत्रकार दिलिप पौडेललाई प्रकाशित समाचारको विषयलाई लिएर कीर्तिपुर निवासी महेशराज महर्जनसहितका व्यक्तिले सामाजिक सञ्जाल र फोनबाट धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । वैशाख २ गते नागरिक दैनिकमा प्रकाशित ‘कोरोनाको बहान बनाएर ९ महिनाको गर्भवती डेरा निकाला’ शीर्षक समाचारलाई लिएर निज महर्जनसहितका व्यक्तिले सामाजिक सञ्जालमार्फत अनेक किसिमका गालीगलौजको शब्द प्रयोग गर्ने तथा फोनबाट धम्क्याएको पीडित पत्रकार पौडेलले महासंघमा जानकारी गराउनु भएको हो । प्रकाशित समाचारप्रति चित्त नबुझे त्यसको कानुनी उपचार खोज्ने विकल्प हुँदाहुँदै यस किसिमले पत्रकारलाई धम्क्याउनु प्रेस स्वतन्त्रताविरुद्ध हुनुका साथै व्यक्तिको सामाजिक प्रतिष्ठामा समेत आघात पुग्ने महासंघको ठम्याई छ । महासंघ घटनामा संलग्न महर्जनसहितका व्यक्तिको तत्काल पहिचान गरी कानुनी दायरामा ल्याउन र पत्रकारको सुरक्षामा ध्यान दिन स्थानीय प्रशासनसँग माग गर्दछ ।
रमेश विष्ट
महासचिव