कोभिड –१९ को जोखिम मोलेर जनतालाई सूसुचित गर्न क्रियाशील सञ्चारकर्मीहरुलाई सञ्चार प्रतिष्ठानहरुले समयमा पारिश्रमिक उपलब्ध नगराउने, जागिरबाट हटाउने र न्यूनतम सेवा सुविधाबाट समेत बञ्चित गरिएकोप्रति महासंघको गम्भीर ध्यानाकर्षण

मितिः २०७७।०१।०३


कोभिड –१९ को जोखिम मोलेर जनतालाई सूसुचित गर्न क्रियाशील सञ्चारकर्मीहरुलाई सञ्चार प्रतिष्ठानहरुले समयमा पारिश्रमिक उपलब्ध नगराउने, जागिरबाट हटाउने र न्यूनतम सेवा सुविधाबाट समेत बञ्चित गरिएकोप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

सञ्चार प्रतिष्ठानहरुले लकडाउनभन्दा अघिको बाँकी पारिश्रमिक र लकडाउन अवधिको पारिश्रमिकसमेत उपलब्ध नगराउँदा श्रमजीवी पत्रकारहरु गम्भीर आर्थिक समस्या झेल्न बाध्य छन् । कोरोना संक्रमणले मानवीय संकट गहिरिदै जाँदा श्रमजीवी पत्रकारहरुले बक्यौता र पछिल्लो महिनाको पारिश्रमिक प्राप्त गर्न नसक्नु तथा सेवाबाट समेत हटाउने क्रम बढ्दै जानुले महासंघलाई गम्भीर र चिन्तित बनाएको छ ।

महासंघ श्रमजीवी पत्रकारलाई कामबाट हटाउने कार्य तत्काल रोक्न र पारिश्रमिक नपाएका पत्रकारहरुलाई पारिश्रमिक उपलब्ध गराउन सम्बन्धित सञ्चारगृहसँग माग गर्दछ । अन्यथा, श्रमजीवी पत्रकारको पेशागत हक र अधिकार स्थापित गर्न महासंघ कानूनीलगायत सबै प्रकारको संघर्षमा जाने प्रष्ट पार्न चाहान्छ ।

पछिल्लो समय नेपाल रिपव्लिका मिडिया प्रा.लि.बाट प्रकाशित रिपव्लिका अग्रेजी दैनिकमा कार्यरत पत्रकारहरुलाई बक्यौता र पछिल्लो महिनाको पारिश्रमिक समेत उपलब्ध नगराई एकतर्फी ढंगबाट प्रकाशन स्थगित गरिएकोप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । श्रमजीवी पत्रकारप्रति गरिएको यो अन्यायको महासंघ कडा शब्दमा आपत्ति प्रकट गर्दछ । रिपब्लिका व्यवस्थापन पक्षलाई तत्काल सम्वाद गरी समस्या समाधान गर्न महासंघ माग गर्दछ । अन्यथा संघर्षमा जान बाध्य हुने स्पष्ट पार्न चाहान्छ ।

साथै, अहिलेको संकटपूर्ण अवस्थामा स्वास्थ्यकर्मी र सुरक्षाकर्मी जस्तै जोखिम मोलेर जनतालाई सुसुचित गर्न अहोरात्र क्रियाशील सञ्चारकर्मी र सञ्चारगृहहरुका लागि तत्काल राहत र सहुलियत प्रदान गर्न महासंघ सरकारसँग जोडदार माग गर्दछ ।

रमेश विष्ट
महासचिव

 Download