दबावपूर्ण बेतलबी बिदाको क्रम रोक्न र पारिश्रमिक नदिएका सञ्चार प्रतिष्ठानहरुलाई अविलम्ब बाँकी पारिश्रमिक भुक्तानी गर्न नेपाल पत्रकार महासंघकाे आग्रह

मिति : २०७७।०१।११

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको काठमाडौंमा उपलब्ध पदाधिकारी तथा सदस्यहरुको बैठक अध्यक्ष गोविन्द आचार्यको अध्यक्षतामा २०७७ वैशाख ११ गते सम्पन्न भयो । विश्वभरी फैलिएको कोरोना भाइरसको संक्रमणले नेपाललाई समेत प्रभावित पारिरहेको सन्दर्भमा आमसञ्चारकर्मीहरुले उच्च जोखिमका बीच जनतालाई सुसूचित गराइरहेको निष्कर्ष निकाल्दै कोरोनाको संक्रमण देखिएका जिल्लासहित सबै जिल्लाहरुमा अग्रभागमा रहेर काम गरिरहेका सञ्चारकर्मीहरुको र्यापिड टेस्टसहित परिक्षणको व्यवस्था मिलाउन बैठकले नेपाल सरकारसँग माग गरेको छ । कोरोनाको संक्रमणले उत्पन्न गराएको संकटपूर्ण अवस्थाले श्रमजीवी पत्रकारहरुलाई प्रभावित पारिरहेको समयमा कान्तिपुर मिडिया ग्रुप सम्बद्ध पत्रकारहरुलाई दबाव दिएर बेतलबी बिदा दिने र नेपाल रिपब्लिक मिडिया प्रा.लि., एभिन्युज टेलिभिजन, राजधानी दैनिक तथा अन्नपूर्ण मिडिया ग्रुपसहितका कतिपय सञ्चारगृहले लामो समयदेखि पारिश्रमिक नदिएकाप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । महासंघ दबाबपूर्ण बेतलबी बिदाको क्रम रोक्न र पारिश्रमिक नदिएका सञ्चार प्रतिष्ठानहरुलाई अविलम्ब बाँकी पारिश्रमिक भुक्तानी गर्न आग्रह गर्दछ । श्रमजीवी पत्रकारहरुको हकहित र अधिकारका लागि अनुगमन, समन्वय र कानुनी लगायतका संघर्ष गर्न महासंघले महासचिव रमेश विष्टको नेतृत्वमा एक समिति गठन गर्ने निर्णय गरेको छ । महासंघले अहिलेको संकटपूर्ण अवस्थालाई मध्यनगर गर्दै सञ्चारकर्मी र सञ्चार प्रतिष्ठानहरुको समस्या सम्बोधनका लागि राहत सुविधा उपलब्ध गराउन माग गर्दै केन्द्रमा नेपाल सरकार र प्रदेशमा प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ । कोरोना संक्रमणको उच्च जोखिम मोलेर जनतालाई सुसूचित गर्ने दायित्व पूरा गरिरहेका आम सञ्चारकर्मीहहरुलाई आफ्नो सुरक्षाप्रति संवेदनशील भएर सत्यतथ्य समाचार सम्प्रेषण गर्न महासंघ आव्हान गर्दछ ।

रमेश विष्ट

महासचिव

 Download