समयमै पारिश्रमिकलगायत सुविधा उपलब्ध गराउन र श्रमजीवी पत्रकारका समस्या सम्वोधन गर्न सबै सञ्चार प्रतिष्ठानहरुलाई महासंघको आग्रह

मिति : २०७७।०१।१२

नेपाल पत्रकार महासंघको यही बैशाख ११ गते सम्पन्न उपलब्ध केन्द्रीय समिति बैठकले कोरोना सक्रमणले उत्पन्न गराएको अहिलेको संकटपूर्ण अवस्थामा केही सञ्चारगृहमा श्रमजीवी पत्रकारहरुलाई दबाबपूर्ण बेतलवी विदामा राख्ने तथा समयमै पारिश्रमिक उपलब्ध नगराउने जस्ता समस्या देखिएकाले त्यसलाई तत्काल रोकी श्रमजीवी पत्रकारहरुका समस्या सम्वोधन गर्न आग्रह गर्नुका साथै सोको समाधानका लागि विभिन्न पत्रकार संगठनहरुसँग समेत सहकार्य गरेर दबाबमूलकढंगले अघि बढ्ने निर्णय गरेको थियो । बैठकका निर्णयहरु महासंघले विज्ञप्तिमार्फत् हिजै सार्वजनिक गरेको विदितै छ । महासंघको विज्ञप्ति सार्वजनिक भए लगत्तै कान्तिपुर प्रकाशन गृहको व्यवस्थापन पक्षले मौखिक तथा लिखितरुपमा महासंघको विज्ञप्तिमा कान्तिपुरको समेत नाम आएकोमा गम्भीर आपत्ति जनाउँदै आफ्नो प्रकाशन गृहले कसैलाई पनि तलव पारिश्रमिक नपाउने गरी विदामा नराखेको जनाएको छ । कान्तिपुरले आफ्नो संस्थाले चैत्र महिनासम्मको सबै श्रमजीवीको तलव, पारिश्रमिक समयभित्रै भुक्तानी गरिसकिएको, कसैलाई पनि बेतलवी विदामा नराखिएको जनाउँदै आगामी दिनमा पनि समयमै श्रमजीवी पत्रकारहरुलाई पारिश्रमिक लगायतको सुविधा उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ । नेपाल पत्रकार महासंघ कान्तिपुर प्रकाशन गृहको श्रमजीवी पत्रकारहरुलाई दबाबपूर्ण बेतलवी विदामा नराखिएको र नराख्ने जनाउँदै आगामी दिनमा पनि समयमै पारिश्रमिक भुक्तानी गर्ने प्रतिवद्धताप्रति हार्दिक आभार व्यक्त गर्दछ । महासंघ सबै सञ्चार प्रतिष्ठानहरुलाई समयमै पारिश्रमिकलगायत सुविधा उपलब्ध गराउन र श्रमजीवी पत्रकारका समस्या सम्वोधन गर्न आग्रह गर्दछ । महासंघले अहिलेको संकटपूर्ण अवस्थालाई मध्यनगर गर्दै सञ्चारकर्मी र सञ्चार प्रतिष्ठानहरुको समस्या सम्वोधनका लागि राहत सुविधा उपलब्ध गराउन नेपाल सरकारलाई आग्रह गरेको छ ।कोरोना संक्रमणको उच्च जोखिम मोलेर जनतालाई सुसूचित गर्ने दायित्व पूरा गरिरहेका आमसञ्चारकर्मी साथीहरुलाई आफ्नो सुरक्षाप्रति संवेदनशील भएर सत्यतथ्य र जनचेतनामूलक समाचार सामग्री सम्प्रेषण गर्न महासंघ आव्हान गर्दछ ।

 

रमेश विष्ट

महासचिव

 Download