घटनाको छानबिन गरी दोषीमाथि कानुनी कारबाहीको माग

 

घटनाको छानबिन गरी दोषीमाथि कानुनी कारबाहीको माग

 

मितिः २०७७।१०।२२
पोखराबाट प्रकाशित समाधान दैनिकका प्रधानसम्पादक तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीलाई आफूलाई फिरोज नाम बताउने व्यक्तिले फोनबाट गालीगलौज र धम्की दिनुका साथै पत्रिकाको कार्यालयलाई बमले उडाइदिने भनी धम्क्याएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।


महासंघ कास्की शाखाका अनुसार माघ २१ गते नेकपा विप्लव समुहको जनमुक्ति सेनामा कार्यरत रहेको बताउने निज व्यक्तिले दैनिकका प्रधान सम्पादक ज्ञवालीले आफ्नो फोन नउठाएको भन्दै प्रधानसम्पादक ज्ञवालीलाई विभिन्न किसिमका गालीगलौज र धम्की दिँदै पत्रिकाको कार्यालयलाई बमले उडाइदिनसक्ने भनेर धम्क्याएका थिए ।

कुनै पनि बहानामा पत्रकार र सञ्चारमाध्यमलाई यस किसिमले धम्क्याउनु आफैंमा निन्दनीय र प्रेस स्वतन्त्रताविरोधी काम हो । महासंघ घटनाको छानबिन गरी दोषीमाथि कानुनी कारबाहीको माग गर्दै प्रेस स्वतन्त्रतामाथि आघात पुग्ने यस्ता गतिविधि नियन्त्रणमा कडा कदम चाल्न र पत्रकार र सञ्चारमाध्यमको सुरक्षामा गम्भीर हुन स्थानीय प्रशासनको ध्यानाकर्षण गराउँदछ ।

रमेश विष्ट
महासचिव

 Download