पत्रकार आक्रमणमा संलग्नमाथि कानुनी कारबाहीकाे माग

मिति : २०७७।१२।३१

समाचार संकलनका क्रममा नेपाल आज डटकमका सञ्चालक तथा सञ्चारकर्मी माधवप्रसाद गुरागाईँलाई ठेकेदार मनोज भेटवालसहितका टोलीले आक्रमण गरी ज्यान मार्ने धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

चैत्र ३० गते काठमाडौंको पुरानो बसपार्कमा निर्माणाधीन भ्यूटावरको प्रगति विवरण लगायतका विषयमा समाचार संकलन गर्न पुगेका पत्रकार गुरागाईंलाई ठकेदार भेटवालसहित उनका दाजु भैरव भेटवाल, सुपरभाइजर ज्ञानबहादुर रायले आक्रमण गरी सञ्चार सामग्रीसमेत तोडफोड गर्दै ज्यान मार्ने धम्की दिएका थिए ।

सार्वजनिक प्रयोजनका लागि निर्माण हुन लागेको टावर निर्माणको विषयमा नागरिकलाई सुसूचित गराउने कर्म निर्वाहमा जुटेका सञ्चारकर्मीमाथि आक्रमण गर्नु, धम्की दिनु प्रेस स्वतन्त्रताविरोधी काम हो । महासंघ प्रेसविरोधी यो घटनाको कडा शब्दमा भर्त्सना गर्दछ । र, पत्रकार आक्रमणमा संलग्नमाथि कानुनी कारबाही गरी पत्रकारको संवैधानिक स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँदछ ।


प्रकाश थापा
सचिव

 Download