नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सदस्य दिनेश दाहालको कोरोना संक्रमणका कारण ४० वर्षको अल्पायुमै निधन भएको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध र दुःखी

मिति :२०७८।०१।२५


नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सदस्य दिनेश दाहालको कोरोना संक्रमणका कारण ४० वर्षको अल्पायुमै निधन भएको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध र दुःखी भएको छ ।
वैशाख १ गते कोरोना संक्रमण पुष्टि भएपछि घरमै आइसोलेसनमा रहेका दाहाललाई श्वास फेर्न समस्या भएपछि वैशाख १० गते ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा भर्ना गरिएको थियो । १५ दिनदेखि उपचाररत दाहालको आज बिहान उपचारको क्रममा निधन भएको हो ।
विगत दुई दशकदेखि पत्रकारितामा सक्रिय दाहालले जनप्रहार साप्ताहिकमा लामो समयसम्म सम्पादकका रुपमा काम गर्नुभएको थियो । पत्रकार दाहाल पछिल्लो समय सिपोष्ट न्यूज डटकमका सम्पादक/प्रकाशकका रुपमा पत्रकारितामा सक्रिय हुनुहुन्थ्यो । उहाँको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल र जुझारु युवा पत्रकार गुमाएको छ । स्वर्गीय दाहालका श्रीमती, एक छोरा र एक छोरी छन् । 
महासंघ स्वर्गीय पत्रकार दाहालप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा महासंघ शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामनासहित गहिरो समवेदना व्यक्त गर्दछ ।
कोरोनाकै कारण हालसम्म ८ जना पत्रकारको निधन भएको छ भने ६ सय ५० भन्दा बढी पत्रकार संक्रमित भएका छन् । पछिल्लो केही दिनयता कोरोना संक्रमणको दर बढिरहेको छ । कोरोना संक्रमणको चुनौतीपूर्ण यो अवस्थामा महासंघ सम्भावित जोखिमको ख्याल गरी सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपायहरु अवलम्बन गर्दै पेशागत कर्ममा जुट्न सबै पत्रकारमा अपिल गर्दछ ।

रोसन पुरी
महासचिव

 Download