समाचारको विषयलाई लिएर नुवाकोट जिल्लास्थित पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले विज्ञप्ति निकालेर पत्रकारलाई धम्की दिएको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण

मितिः २०७८।०२।२९

प्रकाशित समाचारको विषयलाई लिएर नुवाकोट जिल्लास्थित पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले प्रेस विज्ञप्ति निकालेर सञ्चारमाध्यम र पत्रकारलाई लक्षित गर्दै धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

जेठ २६ गते पालिकाखबर डटकम र दैनिकी डटकममा उक्त गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण गर्न ल्याएको पैसा हराएको सम्बन्धी समाचार प्रकाशित गरेपछि अध्यक्ष तामाङले प्रेस विज्ञप्ति जारी गर्दै ‘कानुनी लगायत अन्य जुनसुकै तबरले उपचार खोज्न आफू तयार रहेको’ भन्दै सोको प्रतिवादको तयारी अवस्थामा रहन चुनौती दिँदै दुवै अनलाईन र पत्रकारलाई धम्कीपूणर् भाषा प्रयोग गरी धम्क्याइएको थियो ।

प्रकाशित समाचारप्रति चित्त नबुझे वा गुनासो रहे त्यसविरुद्ध कानुनी उपचारको बाटो हुँदाहुँदै सार्वजनिक निकायमा वहाल रहेका अध्यक्षजस्तो जिम्मेवार व्यक्तिबाट धम्की दिनु आफैंमा आपत्तिजनक हुनुका साथै प्रेस स्वतन्त्रतामाथिको ज्यादती हो । महासंघ पत्रकारलाई पेशाप्रति हतोत्साहित र त्रसित बनाउने यस्ता धम्कीको कडा भर्त्सना गर्दछ । र, धम्की दिनेमाथि कानुनी कारबाही गर्न तथा पत्रकारलाई निर्वाध र सुरक्षित रुपमा काम गर्ने वातावरण बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ ।

रोसन पुरी

महासचिव