गृह मन्त्रालयद्वारा २०७८ भाद्र १८ र २० गते जारी प्रेस विज्ञप्तिप्रति महासंघको गम्भीर ध्यानाकर्षण

 

मितिः२०७८।०५।२२

गृह मन्त्रालयद्वारा २०७८ भाद्र १८ र २० गते जारी प्रेस विज्ञप्तिप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । नागरिकको अभिव्यक्ति स्वतन्त्रता प्रत्याभूत गरेको नेपालको संविधानको मूल मर्म र भावनाविपरीत आएका यी दुई विज्ञप्ति प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाईसमेत नियन्त्रण गर्ने उद्देश्य प्रेरित भएको महासंघको ठहर छ ।

मित्र राष्ट्रसँगको सम्बन्धको बहानामा सरकारले संविधानले दिएको शान्तिपूर्ण आन्दोलन गर्न पाउने अधिकार र अभिव्यक्ति स्वतन्त्रता खोस्न खोजेको कुरामा महासंघ प्रष्ट छ । मित्र राष्ट्रसँगको सम्बन्धको विषयमा के लेख्ने र के नलेख्ने भन्ने कुरामा नेपाली प्रेस गम्भीर छ ।

गृह मन्त्रालयद्वारा जारी विज्ञप्ति प्रेसको संविधानप्रदत्त अधिकारलाई कुण्ठित बनाउने तथा नागरिकको स्वतन्त्रतापूर्वक भेला वा प्रदर्शन गर्न पाउने अधिकारलाई नियन्त्रण गर्ने नियत रहेकोले तत्काल सच्याउन महासंघ माग गर्दछ । र, महासंघ संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिकको संवैधानिक स्वतन्त्रताको सम्मान गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ ।

रोसन पुरी

महासचिव

May be an image of text