गोरखापत्रमा कार्यरत २९ जना पत्रकारलाई सरकारले हटाउने निर्णय गरेकोप्रति महासंघको ध्यानाकर्षण

मिति : २०७८।०७।१६

गोरखापत्र संस्थानमा विगत १५ वर्षदेखि कार्यरत २९ जना पत्रकारलाई सरकारले हटाउने निर्णय गरेकोप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । विभिन्न जिल्लामा करार सेवामा कार्यरत रहेका संवाददाता तथा स्ट्रिन्जर पत्रकारलाई हटाउने निर्णय गरेको छ ।
श्रमजीवी पत्रकारको हकहित र पेशागत सुरक्षालाई लिएर महासंघ लामो समयदेखि बहस र दबाब अभियानमा छ । यसलाई बेवास्ता गर्दै सरकारले लामो समय काम गरिरहेका श्रमजीवी पत्रकारलाई एकाएक हटाएको यो घटनाले श्रमजीवी पत्रकारका सवालमा सरकारको अनुदार व्यवहार प्रष्ट्याएको छ । सरकारको यो कदम श्रमजीवी पत्रकार ऐनविरुद्ध हुनुका साथै श्रीमजीवी पत्रकारको पेशागत सुरक्षा र स्वतन्त्रतामाथि गम्भीर प्रहार भएको महासंघको ठहर छ । महासंघ सरकारको यो कदमप्रति कडा आपत्ति प्रकट गर्दै हटाइएका सबै पत्रकारलाई तत्काल पुनर्बहाली गर्न माग गर्दछ । अन्यथा श्रमजीवी पत्रकारको पक्षमा संघर्षका कार्यक्रम अगाडि बढाउन बाध्य हुने महासंघ जानकारी गराउन चाहन्छ ।
साथै, सरकारी सञ्चारमाध्यममा हरेक सरकार परिवर्तनपछि नयाँ नियुक्त गर्ने र पुरानोलाई निकाल्ने परम्पराको स्थायी समाधानका लागि महासंघ सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छ ।

    ..................
    रोसन पुरी
    महासचिव

 

 Download