महासंघको प्रेस स्वतन्त्रता अनुगमन तथा श्रमजीवी पत्रकार हित प्रवद्र्धन विभागको बैठककाे  सेवासुविधा नदिने सञ्चारमाध्यमका विरुद्ध कठोर संघर्ष उत्रने निर्णय

मिति : २०७८।०९।१२

नेपाल पत्रकार महासंघको प्रेस स्वतन्त्रता अनुगमन तथा श्रमजीवी पत्रकार हित प्रवद्र्धन विभागको बैठक विभागका संयोजक तथा वरिष्ठ उपाध्यक्ष रमेश विष्टको अध्यक्षतामा बस्यो । बैठकले प्रेस स्वतन्त्रता तथा अनुगमनको पछिल्लो अवस्था र श्रमजीवी पत्रकारको श्रम समस्याका बारेमा गम्भीर समीक्षा गर्दै निम्न निर्णयहरू गरेको छ–

१. नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयमा श्रमजीवी पत्रकारहरूको श्रम समस्या हेर्न र सहजीकरण गर्न यथाशीघ्र श्रम डेस्क स्थापना गर्ने निर्णय गरेको छ ।

२ सञ्चार प्रतिष्ठानले विभिन्न बहानामा पारिश्रमिक नदिएका, बेतलवी बिदामा राखिएका र श्रमजीवी पत्रकार ऐनअनुसारको सेवासुविधा नदिएका श्रमजीवी पत्रकारहरूको समस्या तत्काल समाधान गर्न सम्बन्धित सञ्चार गृहलाई पुनः आग्रह गरिने निर्णय गरेको छ । महासंघले सेवासुविधा नदिने सञ्चारमाध्यमका विरुद्ध कठोर संघर्ष उत्रने निर्णय गरेको छ । जसअन्तर्गत अन्नपूर्ण पोष्ट, नागरिक दैनिक, दि हिमालय टाइम्स, राजधानी दैनिक, रेडियो सगरमाथा, इमेज च्यानल, न्यूज २४ लगायतका सञ्चारमाध्यममा कालो ब्यानरसहित धर्ना दिने निर्णय गरेको छ ।

३. श्रम समस्या समाधान गर्न अटेर गर्ने सञ्चार प्रतिष्ठानमा महासंघले थप दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने, कालोसूची तयार गरी सार्वजनिक गर्ने र आवश्यक कानुनी लडाईलाई समेत अवलम्बन गर्ने निर्णय गरेको छ ।

४.नेपाल पत्रकार महासंघको पहलमा सञ्चारमाध्यमहरूले प्राप्त गरेको कोभिड सफ्ट लोन (सहुलियतपूर्ण कर्जा) को सही सदुपयोग नभएको महासंघले ठहर गरेको छ । राज्यबाट सहुलियतपूर्ण कर्जा लिने तर पत्रकारलाई दिनुपर्ने सेवासुविधा नदिने कुरा महासंघलाई स्वीकार्य छैन । सहुलियतपूर्ण ऋण श्रमजीवी पत्रकार र कर्मचारलाई सेवासुविधा र पारिश्रमिक दिनेलगायतका लक्षित ठाउँमा खर्च नभएको देखिएकोले त्यसप्रति अनुगमन गर्न नेपाल सरकार अर्थ मन्त्रालयलाई आग्रहसहितको ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ । साथै, महासंघ स्वयंले पनि त्यसमा अनुगमन गर्ने निर्णय गरेको छ ।

रोसन पुरी

महासचिव