मिति :२०७८।१०।२१
झापास्थित बिएण्डसी अस्पतालका बारेमा एक सञ्चारमाध्यममा प्रकाशित समाचारको खण्डनका लागि अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले पत्रकार सम्मेलन गरेर पत्रकारहरूलाई सार्वजनिक रूपमा धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।
महासंघ झापा शाखाका अनुसार कार्यकारी निर्देशक प्रसाईले अस्पतालबारे एक सञ्चारमाध्यममा आएको समाचारको खण्डन गर्न २०७८ माघ १९ गते पत्रकार सम्मेलनको आयोजना गरी पत्रकारिताको बद्नामसँगै पत्रकारहरूलाई सार्वजनिक रूपमा ठाडो धम्की दिएका थिए ।
कुनै पनि सञ्चारमाध्यममा संप्रेषित समाचारप्रति चित्त नबुझे या कुनै गुनासो रहे त्यसउपर कानुनी उपचार खोज्न सकिने प्रावधान र स्थापित पद्धति छ । यसलाई बेवास्ता गर्दै अस्पतालजस्तो संवेदनशील निकायका जिम्मेवार व्यक्तिबाट पत्रकारलाई सार्वजिक रूपमा ठाडो धम्की दिनु आपत्तिजनक हुनुका साथै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी काम हो । महासंघ पत्रकारलाई पेशाप्रति हतोत्साहित र त्रसित बनाउने गरी धम्की दिनेलाई कानुनी कारबाही गरी सुरक्षाको प्रत्याभूति दिलाउन सम्बन्धित निकायसँग माग गर्दछ ।
रोसन पुरी
महासचिव