२०७८ साल पनि नेपाली पत्रकारिता क्षेत्रका लागि चुनौतीपूर्ण वर्ष : नेपाल पत्रकार महासंघ

 

मिति : २०७९।०१।०१

नयाँ वर्ष विक्रम संवत् २०७९ आज शुभारम्भ भएको छ । नयाँ वर्ष शुभारम्भको अवसरमा स्वदेश तथा विदेशमा रहने सम्पूर्ण पत्रकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा क्रियाशील नागरिकमा सुख, शान्ति, सु–स्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछौँ । विक्रम संवत २०७८ साल पनि नेपाली पत्रकारिता क्षेत्रका लागि चुनौतीपूर्ण वर्ष रह्यो । श्रम समस्यामा अघिल्लो वर्षभन्दा कमी आए पनि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका घटनामा खासै कमी आउन सकेको छैन ।

नेपाल पत्रकार महासंघमा अभिलेखीकरण भएअनुसार २०७८ मा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हनन्का ७४ वटा घटना भएका छन् । पत्रकारलाई समाचार लेखेकै आधारमा पक्राउ गर्ने, प्रसारण तथा प्रकाशनमा अवरोध, दुव्र्यवहार तथा धम्की, आक्रमण, पेशागत असुरक्षा र नीतिगत बन्देजका घटना भएका छन् । श्रमजीवी पत्रकार ऐनले दिएका सेवा, सुविधा कार्यान्वयनको पक्ष भने अघिल्लो वर्षमा पनि चुनौतीपूर्ण रह्यो । २०७७ सालमा ५ सय १७ जना पत्रकारको श्रम समस्या रहेकामा २०७८ सालमा २ सय २१ वटा श्रम समस्या महासंघ अभिलेखीकरण भएका छन् । २०७७ मा समाधान हुन बाँकी श्रम समस्या र २०७८ का श्रम समस्यामध्ये झण्डै ३ सय जना पत्रकारका समस्या समाधान भएका छन् । महासंघको कानुनी सहायता डेस्कमार्फत श्रम समस्या र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हनन्विरुद्ध ३३ वटा घटनाका बारेमा न्यायिक लडाइँ चलिरहेको छ ।

त्यस्तै २०७८ सालमा संघ, प्रदेश र स्थानीय सरकारबाट प्रेसविरोधी प्रावधानसहितका सञ्चारसम्बन्धी विभिन्न कानुनहरू बनाउने तथा संसद्मा दर्ता गर्ने काम भएका छन् । संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्ताविरुद्ध रहेका विचाराधीन यी कानुनले नेपालको संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्थालाईसमेत चुनौती थपिदिएको छ । अघिल्लो सरकारले जस्तै वर्तमान सरकारले पनि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने गैरकानुनी कामलाई निरन्तरता दिएको छ । नेपाल सरकारकै संलग्नतामा उजुरी गरेर युएईमा कार्यरत एक पत्रकारलाई अहिले पनि जेलमा राखिएको छ । नागरिकको अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक हकलाई उपयोग गर्न नदिनेगरी सरकारले विभिन्न प्रकारका कानुन ल्याउने प्रयास गरिरहेको छ ।

कोरोना भाइरस संक्रमणबाट अहिलेसम्म २६ जना पत्रकार तथा सञ्चारकर्मीले ज्यान गुमाएका छन् । त्यसमध्ये ०७८ सालमा १८ जना पत्रकार तथा सञ्चारकर्मीले ज्यान गुमाएका थिए । कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न पत्रकार महासंघको पहलमा ९९ प्रतिशत पत्रकारले कोभिडविरुद्धको खोप लगाएका छन् । त्यसले जोखिम कम भए पनि कोभिडले पत्रकार तथा सञ्चारमाध्यममा पारेको असर भने अहिले पनि कायमै छ । कोभिडको बहानामा देखाएर पत्रकारलाई पत्रकारलाई नियमित तलब नदिने, बेतलवी विदामा राख्ने र जागिरबाट निष्कासन गर्ने कामले निरन्तरता पाएको छ ।

नयाँ वर्ष २०७९ चुनावी वर्ष रहेकाले नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्ता, पत्रकारको पेशागत सुरक्षा तथा भौतिक सुरक्षा, सेल्फसेन्सरसिपलगायतका विषयलाई प्राथमिकतामा राखेर काम गर्ने तयारी गरेको छ । वैशाख पहिलो हप्तादेखि नै श्रम समस्या समाधानका लागि आवश्यक आन्दोलन, दबाब र कानुनी लडाइँलाई एकसाथ लैजानेगरी योजना बनाइएको छ । यो वर्ष हुने स्थानीय तह, प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउनका लागि निर्वाचन आयोगसँगकै साझेदारीमा सबै जिल्लामा महासंघले अनुगमन गरेर नागरिकको आफूले चाहेको राजनीतिक दल तथा उम्मेदवारलाई मतदान गर्न पाउने अधिकारलाई सुनिश्चित गर्ने काममा सघाउ पुर्याउने छ । महासंघले निर्वाचनमा कसरी रिपोर्टिङ गर्ने भन्ने विषयमा निर्वाचन आयोग र अन्य संघसंस्थासँग मिलेर विभिन्न जिल्लामा तालिम दिन सुरु गरिसकेको छ ।

तीन तहकै सरकारले ल्याएका र ल्याउने तयारी गरिरहेका कानुन पूर्ण प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक प्रत्याभूत गरेका अधिकारको पक्षमा हुनु पर्दछ । तर अहिले आइसकेका केही र ल्याउने तयारीमा रहेका केही कानुनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने भएकाले त्यसकाविरुद्ध सशक्त आन्दोलनमा उत्रिने तयारी महासंघले गरेको छ । यसमा अधिकारकर्मी सबैको साथ र सहयोगको अपेक्षा गरिएको छ । अन्त्यमा, महासंघले पत्रकारको भौतिक तथा पेशागत सुरक्षा, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिकको संवैधानिक अधिकारको पक्षमा विगतका वर्षमा जस्तै नेतृत्वदायी भूमिकामा रहेर आवाज बुलन्द पार्ने प्रतिवद्धता व्यक्त गर्दछौँ ।

रोसन पुरी

महासचिव