आसन्न स्थानीय तहको निर्वाचनमा पत्रकार आचारसंहिताको पूर्ण पालना गर्दै तटस्थ भूमिका निर्वाह गर्न पुनः सबै सदस्यलाई महासंघको आहृवान गर्दछ ।

मिति : २०७९।०१।१२

आसन्न स्थानीय तहको निर्वाचनमा पत्रकार आचारसंहिताको पूर्ण पालना गर्दै तटस्थ भूमिका निर्वाह गर्न नेपाल पत्रकार महासंघ पुनः सबै सदस्यलाई हार्दिक आहृवान गर्दछ ।

नेपाली पत्रकारको साझा संस्था महासंघले सधै साझा र तटस्थ भूमिका निर्वाह गरिरहेको सन्दर्भमा महासंघको गरिमा, साख र साझा चरित्रलाई बचाउने कार्यमा हरेक सदस्यको भूमिका महत्वपूर्ण रहिआएको छ । महासंघले आफ्ना सदस्यको हरेक भूमिका र गतिविधिहरूलाई नजिकबाट नियालिरहेको छ ।

महासंघको सदस्यता प्राप्त गरेका कोही पनि सदस्यले निर्वाचनमा उम्मेदवार बन्न चाहेमा महासंघको गरिमा, साख र साझा चरित्रको ख्याल गर्दै सदस्यता परित्याग गरेर मात्रै उम्मेदवार बन्न सबै सदस्यहरूलाई निर्वाचन आचारसंहिता २०७८ को प्रतिकुल काम नगर्न महासंघ पुनः आहृवान गर्दछ ।

निर्वाचन आचारसंहितामा सञ्चार प्रतिष्ठान, सम्बद्ध कर्मचारी तथा पत्रकारले कसैको पक्ष वा विपक्षमा एसएमएस, फेसबुक म्यासेन्जर, ट्विटर, युट्युव र इन्स्टाग्राम जस्ता विद्युतीय माध्यमको प्रयोग गरी कुनै पनि सामग्री प्रकाशन, प्रसारण वा संप्रेषण गर्न तथा त्यस्ता सामग्री सामाजिक सञ्जालमा सेयर, लाइक, कमेन्ट वा प्रतिकमेन्ट गर्न नहुने उल्लेख छ । यो व्यवस्थाको पालना गर्दै सत्य, तथ्य, निष्पक्ष र तटस्थ सूचना संप्रेषण गर्ने पत्रकारको मूल दायित्वको हेक्का राखिदिन महासंघ सबैमा आग्रह गर्दछ ।

निर्वाचनका समयमा महासंघका सदस्यहरूको भूमिकाको अनुगमन गरी यथार्थ विवरण संकलन गर्न महासंघको आचारसंहिता तथा अनुगमन विभाग र अनुशासन विभागले अनुगमन गरिहेको जानकारी पनि गराइन्छ । महासंघका कुनै पनि संरचनामा रहेका पदाधिकारी वा सदस्यहरू उम्मेदवार बनेमा महासंघको विधानको मर्म र व्यवस्थाअनुसार सोही समयदेखि कायम रहेको पदबाट स्वतः मुक्त हुन जाने निर्णय यसअघिको केन्द्रीय समितिको बैठकबाट भएको सम्बन्धित सबैमा जानकारी गराइन्छ ।

रोसन पुरी

महासचिव

May be an image of text