पत्रकार कुटपिट गर्नेलाई कारबाहीको माग

 

मिति : २०७९।०१।३१

स्थानीय तह निर्वाचनको समाचार संकलनका क्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिका कोषाध्यक्ष राजेन्द्र न्यौपानेलाई कुटपिट गरी घाइते बनाएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

महासंघ गण्डकी प्रदेश समितिका अनुसार गोरखा जिल्लाको शहीद लखन गाउँपालिका १ स्थित बागेश्वरी माध्यामिक विद्यालयमा रहेको मतदान केन्द्रमा शुक्रबार दिउँसो ४ः३० बजे समाचार संकलनका लागि पुगेका न्यौपानेलाई सोही गाउँपालिका १ नम्बरका वडा अध्यक्ष दीपकबहादुर केसी र उनका समर्थकले मतदान स्थलको फोटो खिचेको निहुँमा निर्घात कुटपिट गरी घाइते बनाएका थिए । घाइते पत्रकार न्यौपानेको अहिले गोरखा जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

निर्वाचन र मतदानका विषयमा नागरिकलाई सुसूचित गर्ने उद्देश्यले सञ्चारकर्ममा जुटेका पत्रकारमाथि भएको यो घटना प्रेसविरोधी काम हो । महासंघ प्रेसविरोधी यस्ता कार्यको कडा भर्त्सना गर्दछ । र, घटनामा संलग्नलाई तत्काल कानुनी दायरामा ल्याएर पत्रकारलाई निर्वाध र निर्भीक रूपमा काम गर्ने वातावरण निर्माण गर्न र घाइते पत्रकारको उपचारको व्यवस्था मिलाउन स्थानीय प्रशासनको ध्यानाकर्षण गराउँदछ ।

रोसन पुरी

महासचिव