वरिष्ठ पत्रकार केदारमान सिंह र महासंघ रौतहट शाखाका पूर्वसचिव रविन्द्र मण्डलको निधन भएको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध

मिति : २०७९।०६।०७

शाेक विज्ञप्ति

वरिष्ठ पत्रकार केदारमान सिंहको ८१ वर्षको उमेरमा त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पतालमा निधन भएको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध भएको छ । लामो समयदेखि मुटु रोगबाट पीडित भई उक्त अस्पतालमा उपचाररत सिंहको उपचारकै क्रममा असोज ५ गते बुधबार निधन भएको हो । विगत पाँच दशकभन्दा लामो समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील सिंहले नेपालसँगै विदेशी समाचार एजेन्सीमा पनि काम गर्नुभएको थियो । फ्रान्सेली समाचार एजेन्सी एएफपीमा ४० वर्ष र बीबीसीमा २० वर्ष नेपाली प्रतिनिधि भएर काम गर्नुभएका सिंहले पछिल्लो समय स्वतन्त्र रूपमा विभिन्न पत्रपत्रिकामा लेख लेख्दै आउनु भएको थियो । उहाँको निधनबाट नेपाली पत्रकारिता जगत्ले एक योग्य र अनुभवी पत्रकार गुमाएको छ । स्वर्गीय सिंहका श्रीमती, एक छोरा र एक छोरी हुनुहुन्छ ।

यसैगरी महासंघ रौतहट शाखाका पूर्वसचिव रविन्द्र मण्डलको ४८ वर्षको अल्पायुमै उपचारको क्रममा निधन भएको दुःखद् खबर महासंघ स्तब्ध भएको छ । २०७६ साउन ३१ गते सवारी दुर्घटनाबाट घाइते भई उपचाररत रहेका मण्डलको असोज ५ गते बुधबार नै निधन भएको हो ।रौतहटमा रही सक्रिय पत्रकारितामा रहेकै अवस्थामा दुर्घटनामा परेका पत्रकार मण्डलले राजधानी दैनिक र रौतहटको राजदेवी एफएमलगायतका सञ्चार माध्यममा काम गर्नुभएको थियो । उहाँको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक जुझारु र उर्जावान पत्रकार गुमाएको छ । स्वर्गीय मण्डलका श्रीमती, दुई छोरा र तीन छोरी छन् ।

नेपाल पत्रकार महासंघ स्वर्गीय सिंह र मण्डलप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा स्वर्गीय पत्रकारद्वयका धर्मपत्नी, छोरा र छोरीसहित शोकसन्तप्त परिवारजनमा धैर्यधारणको कामना र गहिरो समवेदना प्रकट गर्दछ ।

रोसन पुरी

महासचिव

 Download