कान्तिपुर मिडिया ग्रुपमा हाल देखिएको श्रम समस्याप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण

मिति : २०८०।०४।०८

कान्तिपुर मिडिया ग्रुपमा हाल देखिएको श्रम समस्याप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । नेपाल पत्रकार महासंघले जेठ ३० गते प्रेस विज्ञप्तिमार्फत त्यस संस्थामा देखिएको श्रम समस्या समाधानका लागि आग्रह गरेको थियो ।

त्यसपछि पनि मिडिया ग्रुपमा आवद्ध पत्रकार-कर्मचारी तथा कामदारलाई विभिन्न वहानामा संस्थाबाट विदा गर्ने प्रयास गरिएको गुनासो महासंघमा प्राप्त भएको छ । पत्रकारले समयमै पारिश्रमिक नपाउने,  लामो समय काम गरेर संस्थालाई योगदान गरेका पत्रकारलाई जबरजस्ती हट्न बाध्य बनाउने, स्थायी पत्रकार तथा कर्मचारीलाई अस्थायी/करारमा रुपान्तरण गर्ने, सरुवा गर्नेलगायतका काम विद्यमान कानुनी व्यवस्थाविरोधी काम भएको महासंघको ठहर छ ।

श्रमजीवी पत्रकार ऐन र प्रचलित कानुन सर्वोच्च अदालतसमेतको आदेशअनुसारका सेवा सुविधा तत्काल उपलब्ध गराउन महासंघ कान्तिपुर व्यवस्थापन पक्षसँग पुनः आग्रह गर्दछ । अन्यथा महासंघ अन्यायमा परेका श्रमजीवी पत्रकारलाई निःशुल्क कानुनी उपचार उपलब्ध गराउन र दबाबमूलक आन्दोलन गर्न बाध्य हुने जानकारी गराइन्छ ।

श्रमजीवी पत्रकार ऐन र सर्वोच्च अदालतको फैसला कार्यान्वयनका लागि हाल भइरहेको आन्दोलनका क्रममा पत्रिका वितरणसमेत प्रभावित भइरहेकोले वार्ता र संवादको प्रक्रियाबाट तत्काल समस्या समाधानका लागि महासंघ कान्तिपुर मिडिया ग्रुपको ध्यानाकर्षण गराउँदछ ।

रोसन पुरी

महासचिव

 

 Download