दैनिकी डटकमका प्रधानसम्पादक माधवप्रसाद तिवारीले सामाजिक सञ्जालमा उठाएकाे विषयलाई लिएर प्रेस काउन्सिल नेपालले पत्र काटेकोप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण

 

मिति : २०८०।०४।१८

नेपाल पत्रकार महासंघको एसोसिएट संस्था नेपाल पत्रकारिता विकास समाजका अध्यक्ष एवं दैनिकी डटकमका प्रधानसम्पादक माधवप्रसाद तिवारीले सामाजिक सञ्जालमा उठाएका गम्भीर विषयलाई लिएर प्रेस काउन्सिल नेपालले जवाफ माग गरी पत्र काटेकोप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।

पत्रकार र सञ्चारमाध्यमका सन्दर्भमा प्रेस काउन्सिल नेपाल र सूचना तथा प्रसारण विभागबाट संपादन हुने काम कारबाही संगठित रूपमा गिरोह नै तयारी गरी बिचौलिया मार्फत गर्न खोजिएको विषयलाई सामाजिक सञ्जालमा उठाएको निहुँमा प्रेस काउन्सिलले प्रयोग गरी पत्र काटेको अध्यक्ष तिवारीले महासंघलाई जानकारी गराउनु भएको छ ।

आफूलाई चित्त नबुझेको विषयमा मर्यादा र कानुनी दायरामा बसेर आफ्नो विचार अभिव्यक्त गर्नु प्रत्येक व्यक्तिको स्वतन्त्रता हो । संविधानले सुनिश्चित गरेको अभिव्यक्ति स्वतन्त्रतालाई निर्धक्क उपभोग गर्न पाउनु पर्छ भन्ने विषयलाई महासंघले सधंै उठान गरिरहेको छ ।

सञ्चारमाध्यमको विषयवस्तुको नियमन गर्ने दायित्व बाकेको प्रेस काउन्सिल नेपालले सामाजिक सञ्जालमा अभिव्यक्त गरेको विषयलाई लिएर सञ्जाल प्रयोगकर्तालाई पत्र लेख्नु, सैद्धान्तिक र व्यवहारिक रूपमासमेत उचित होइन । तसर्थ, आफ्नो क्षेत्राधिकार र दायित्वको परिधिभित्र रहेरमात्र यस्ता विषयमा निर्णय लिन प्रेस काउन्सिल नेपालको ध्यानाकर्षण गर्दछु ।

रोसन पुरी

महासचिव

 Download