सञ्चारकर्मीद्वय छवि अनित्य र मञ्जु मैनालीमाथि भएको दुर्व्यवहार घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण

 

मिति ; २०८१।०२।०६

समाचार संकलनका क्रममा मकवानपुरमा सञ्चारकर्मीद्वय छवि अनित्य र मञ्जु मैनालीमाथि भएको दुर्व्यवहार घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।

महासंघ बागमती प्रदेश समितिका अनुसार जेठ १ गते मंगलबार हेटौडा उपमहानगरपालिका १४ नम्बर वडा कार्यालयमा एक चेपाङ परिवारको जन्मदर्तामा देखिएको कठिनाइका सम्बन्धमा समाचार संकलन गर्न वडा कार्यालय पुगेका पत्रकारद्वय अनित्य र मैनालीलाई प्रतिक्रिया लिन खोज्दा वडा अध्यक्ष दीपक खड्काले धम्कीपूणर् भाषा प्रयोग गर्दै दुर्व्यवहार गरेको जनाइएको छ ।

सार्वजनिक सरोकारको विषयमा प्रतिक्रिया लिन खोज्दा सार्वजनिक पदधारी जिम्मेवार व्यक्तिबाट पत्रकारलाई सहजीकरण गर्नुको साटो उल्टो धम्क्याउदै दुर्व्यवहार गरिएको यो घटना अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रताविरोधी हर्कत हो । महासंघ संविधानले सुनिश्चित गरेको पत्रकार अधिकारको ख्याल गरी प्रेस स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित निकायसँग माग गर्दछ ।

रोसन पुरी

महासचिव

 Download