धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईले सञ्चारकर्मी संजिता धमलालाई कार्यकक्षमा बोलाएर अपमानित ढंगबाट दुर्व्यवहार गर्दै नगर प्रहरी र नेपाल प्रहरी लगाएर पक्राउ गरिएको घटनाप्रति पत्रकार महासंघको ध्यानाकर्षण

 

 

मिति : २०८१।०३।२७

पूर्वेली न्यूज डटकममा कार्यरत सञ्चारकर्मी संजिता धमलालाई सुनसरीस्थित धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईले आफ्नै कार्यकक्षमा बोलाएर अपमानित ढंगबाट दुर्व्यवहार गर्दै नगर प्रहरी र नेपाल प्रहरी लगाएर पक्राउ गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।

असार २१ गते शुक्रबार आफ्नै कार्यकक्षमा बोलाएर नगर प्रमुख राईले सार्वजनिक सुनवाई कार्यक्रममा आफूअनुकूल प्रश्न नसोधेको तथा प्रश्न सोधेकै आधारमा सञ्चारकर्मी धमलालाई अपमानित ढंगले आफ्नो कार्यकक्षबाट बाहिर निकाल्दै नगर प्रहरी र नेपाल प्रहरी लगाएर लछारपछार गर्दै पक्राउ गराएका थिए ।

सो क्रममा नगर प्रमुख राईकै निर्देशनमा नगर प्रहरी र नेपाल प्रहरीले सत्यतथ्य नबुझी सञ्चारकर्मी धमलामाथि हमला गर्दा धमलाको चस्मा फुट्नुका साथै शरीरका विभिन्न भागमा चोटपटकसमेत लागेको नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिले जनाएको छ ।

सार्वजनिक पदधारी प्रमुखजस्तो जिम्मेवार व्यक्ति र प्रहरीबाट सञ्चारकर्मीलाई गरिएको यो हर्कत अन्यन्त निन्दनीय हुनुका सार्थै प्रेस स्वतन्त्रतामाथिको ज्यादती हो । प्रेसविरोधी यस्ता हर्कतले पत्रकारलाई पेसाप्रति हतोत्साहित र त्रसित बनाउनुका साथै विचार र अभिव्यक्ति स्वतन्त्रताको अधिकारमा समेत आघात पुग्ने महासंघको ठहर छ ।

महासंघ घटनाको सत्यतथ्य छानिबन गरी प्रेसविरोधी कार्यमा संलग्न जो कोही भए पनि कानुनबमोजिम कारबाही गरी पत्रकारलाई निर्धक्क र सुरक्षित रूपमा काम गर्ने वातावरण बनाउन सम्बन्धित निकायसँग माग गर्दछ ।

 

रोसन पुरी

महासचिव

May be an image of text