संसदीय सुनुवाइका क्रममा सञ्चारमाध्यमलाई निषेध गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघको आपत्ति

 

मिति : २०८१।०४।९

निर्वाचन आयोगको आयुक्तमा सिफारिस कृष्णमान प्रधानको संसदीय सुनुवाइका क्रममा सञ्चार माध्यमलाई निषेध गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।

संसदीय सुनुवाइको अभ्यासमा आज संवैधानिक आयोगमा प्रस्तावित पदाधिकारीको सुनुवाइका क्रममा संसद्का महासचिव पद्मप्रसाद पाण्डेय र जिम्मेवार दलका पदाधिकारी समेतको सक्रियतामा सञ्चार माध्यमलाई निषेध गरिएको छ ।

पदीय जिम्मेवारीविपरीत भएको यो कार्यले संसद् तथा संवैधानिक निकायहरु एवं त्यसका पदाधिकारी पारदर्शी र स्वच्छ हुनुपर्छ भन्ने लोकतान्त्रिक मूल्य मान्यतासमेतको उपहास गरिएको महासंघको ठहर छ । संघीय संसद् संयुक्त बैठक र संयुक्त समिति कार्यसंचालन नियमावली, २०८० मा गोप्य बैठकसम्बन्धी कुनै व्यवस्था नरहेको स्मरण गराउन चाहन्छौं ।

प्रस्तावित व्यक्तिमाथि गम्भीर प्रकृतिको उजुरी परेको अवस्थामा संसदीय सुनुवाइ समितिको आफ्नै अभ्यासविपरीत सार्वजनिक सञ्चार माध्यमलाई निषेध गरिएको यो कार्यप्रति महासंघ आपत्ति प्रकट गर्दछ । महासंघ सञ्चार माध्यमलाई निषेध गरिएको यो घटनाप्रति गम्भीर हुन र आगामी दिनमा यस किसिमका कार्य दोहोरिन नदिन आवश्यक कदम चाल्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछौं ।

 

रोसन पुरी

महासचिव

 Download