मिति : २०८२।०४।२२
नेपाल पत्रकार महासंघका पूर्वउपसभापति तेजबहादुर भण्डारीको ६६ वर्षको उमेरमा निधन भएको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध र मर्माहत भएको छ ।
मुटुमा समस्या देखिएपछि कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत भण्डारीको साउन २१ गते बुधबार निधन भएको हो । स्वर्गीय भण्डारीका श्रीमती र दुई छोरा हुनुहुन्छ ।
करिव दुई दशकसम्म पत्रकारितामा सक्रिय रहेका भण्डारीले जनमानस साप्ताहिकलगायतका पत्रपत्रिकामा काम गर्नुभएको थियो । भण्डारी २०५६।८।१८ देखि २०५९।१।३० सम्म महासंघको केन्द्रीय उपसभापति हुनुहुन्थ्यो ।
उहाँको निधनबाट नेपाली पत्रकारिता जगत्ले एक अनुभवी र कुशल व्यक्तित्व गुमाएको छ भने महासंघले अभिभावक गुमाएको छ । उहाँले पत्रकारिता क्षेत्रमा पुर्याउनु भएको योगदानको नेपाली पत्रकारिता जगत्ले सदा स्मरण गरिरहनेछ ।
नेपाल पत्रकार महासंघ स्वर्गीय भण्डारीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा उहाँकी धर्मपत्नी र छोरासहित शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामनासहित गहिरो समवेदना प्रकट गर्दछ ।
…………………….
रामप्रसाद दाहाल
महासचिव