चुनावले नछोएको घोरबन्दाको कुमाल वस्ती
माधव अर्याल, घोरबन्दा (पाल्पा)
मंसिर १, २०७४-यति बेला प्रतिनिधिसभा र प्रदेशसभाको चुनावी रौनकले दलका नेता/कार्यकर्ता र उम्मेदवारलाई तताएको छ । तर बगनासकाली १ घोरबन्दाका यी कुमाल समुदायलाई भने अहिलेसम्म चुनावले छोएको छैन । गाउँका दलबहादुर कुमालले चुनावबाट बेखबरजस्तै बनेको बताए । ३१ वर्षीय कुमाललाई भोट कसलाई दिनु भन्दा पनि बिहान बेलुका हातमुख कसरी जोड्ने भन्ने चिन्ता छ । तीन छोराछोरी बाबु चुनावभन्दा परिवार पाल्ने कसरी भन्नेमा चिन्तित देखिन्छन् ।
तानसेनबाट ५ किमि टाढाको यो बस्तीमा अधिकांशलाई चुनावले अझै छोएको छैन । बिहानै उठेर नजिकको तानसेन र माडी फाँटमा ज्यालामजदुरी गर्न जानु उनीहरूको बाध्यता छ । बिहानै गाउँटोल सुनसानजस्तै बन्छ । १ सय २० घरमध्ये अधिकांशमा महिला र केटाकेटी भेटिन्छन् । बलिया महिला र पुरुष कामको खोजीमा हिँड्ने भएकाले बिहान गाउँ सुनसानजस्तै बनेको हो । कतिपयको घरमा अझै बिजुली पुगेको छैन ।
बिहान १० बजेतिर उनी एक घण्टा ओरालो झर्छन् माडीफाँटमा माछा मार्न । ‘बजारतिर काम पाइन छाड्यो,’ उनले भने, ‘अब माछा मार्ने र बिक्री गरेर नुन, तेल र चामलको जोहो गर्नुपर्छ ।’ उनलाई माछा मार्न पनि सहज छैन । कहिलेकाहीं प्रहरीले पक्रिएर थानासम्म उनको माछा मार्ने सामग्री लगिदिन्छ । कतिपय अवस्थामा आफंैलाई पनि लगेर थुन्ने प्रहरीको धम्की आउँछ । खेत छैन । केही रोपनी बारी छ । ‘गरिबीको पीडा के हुन्छ ?’ उनले प्रश्न गरे । उनी मात्र होइन, छिमेकी ३९ वर्षीय ज्ञानीसरा कुमालको परिवारको पनि अवस्था उस्तै छ । उनी पनि दिनभर मेलापात गएर घरको गुजारा गर्नुपर्छ । ‘दैनिक ज्यालादारी गर्न काम पाउन पनि छाडियो,’ उनले भनिन्, ‘घरबाट काम गर्न हिँड्यो कहिलेकाहीं रित्तै आउनुपर्छ ।’
ज्ञानीसराको घरमा बिजुली छैन । श्रीमान् बिरामी छन् । एक छोराले पढ्न छाड्यो । एक छोरा र छोरीले पढदै छन् । तर उनीहरूलाई पढाउने कसरी हो ? भन्ने चिन्ता उनमा छ । ‘दिनभरि माछा मार्न गयो,’ उनले भनिन्, ‘बेलुका दुई सय कमाइ भयो भने खानलाई ठिक्क हुन्छ ।’ सधैंभरि निर्वाचन आउँदा नेता गाउँमा देखिन्छन् । तर, फर्केर कोही आउँदैनन् । पोलबाट सय मिटर तार र मिटर बक्स राख्नलाई १० हजार जुटाउन नसक्दा टुकीको भरमा बस्नुपरेको उनको गुनासो छ । ‘जोसुकै पार्टी पनि चुनावका बेला भोट माग्न आउँछन्,’ उनले भनिन्, ‘आश्वासन पनि दिन्छन् तर अहिलेसम्म मेरो हालत यस्तै छ ।’
दलबहादुर र ज्ञानीसरा उदाहरण मात्र हुन् । यहाँका १ सय २० घर कुमाल परिवारमध्ये ५० बढी घरको अवस्था उस्तै हो । निर्वाचनले जिल्लाभर चहलपहल ल्याए पनि यहाँको कुमाल समुदायमा चुनावी सरगर्मी बढ्न सक्दैन । ‘हामीलाई भोट बैंक मात्र बनाए नेताले,’ स्थानीय सीता कुमालले भनिन्, ‘सबै पार्टीले स्थानीय तह निर्वाचनमा टिसर्ट बाँड्न आएका थिए, सबैको लिएर राखेम ।’ खोलामा माछा मार्न पनि सधैं पाइँदैन । मजदुरी गर्न पनि टयाक्टरले गाउँटोलसम्म सामान लग्न थालेको छ । कमाएर खानलाई अब के गर्ने भन्ने चिन्ता यहाँका कुमाल समुदायमा छ । कुमाल समुदायका अधिकांश महिला र पुरुष चुनावी माहोलबारे बेखबर हुन्छन् ।
‘कतिपयको मतदाता सूचीमा नामावली दर्ता भएकै छैन । चुनाव कागलाई बेल पाक्यो हर्ष न विस्मात् भनेझंै छ,’ चुनावी माहोलबारे केही थाहा नपाएको बताउने उनले दैनिक गुजाराका लागि दिनभर संघर्ष गर्नुको विकल्प नभएको बताए । निर्वाचन आयोगले चुनावमा मतदाता शिक्षाका लागि ठूलो रकम खर्च गर्छ । यसका लागि मतदाता शिक्षा सहयोगी गाउँटोलसम्म पुग्छ । तर घोरबन्दाका अधिकांश कुमाल मतदातासमक्ष उनीहरू पुगेका छैनन् । मतदाता नामावली दर्तादेखि समग्र निर्वाचन प्रणालीबारे अनभिज्ञ छन् । मतदान गर्नु व्यक्तिको अधिकार रहेको भन्ने भेउसमेत पाउँदैनन् । ‘अहिलेसम्म चुनावबारे जानकारी दिन कोही पनि आएको छैन,’ कुमालले भनिन्, ‘नेता/कार्यकर्ता उम्मेदवार कोही पनि आएको छैन ।’
गाउँकै थमन कुमाल पनि चुनावबारे केही थाहा नभएको बताउँछन् । उनका काँधमा परिवार पाल्नुपर्ने बाध्यता छ । ‘यस्ता चुनाव कतिवटा भइसके, नेताले बोलेको केही पूरा भएको छैन,’ उनले भने, ‘अहिले फेरि कहिले हो र ? भोट हाल्नुपर्छ भनेर पनि कसैले भन्न आएको छैन ।’ गाउँमा विकास भएको छैन । बाटो राम्रो बन्दैन । खानेपानीको धारा सुख्खा भएको छ ।
कुमाल समुदाय आदिवासी जनजातिअन्तर्गत आर्थिक विपन्न समुदायका रूपमा रहिआएका छन् । राज्यको प्रशासनिक निकायमा कमजोर सहभागिता रहेको कुमाल समुदाय कला संस्कृतिका दृष्टिमा भने धनी जातिका रूपमा लिइन्छ । जिल्लाको रैनादेवी छहरा, रिब्दीकोट, बगनासकाली, माथागढी गाउँपालिका साथै तानसेन र रामपुर नगरपालिकामा १२ हजारको जनसंख्यामा कुमाल समुदायको बसोबास छ ।
Source: http://kantipur.ekantipur.com/news/2017-11-17/20171117081000.html