पुस २, काठमाडौं । २०८२ साल भदौ २३ गतेको जेन्जी आन्दोलन तथा भदौ २४ गते भएको विध्वंशका क्रममा मुलुकभरका सञ्चार माध्यमहरूमा भएको व्यापक क्षतिको विस्तृत विवरण नेपाल पत्रकार महासंघको तर्फबाट आज सरकारलाई बुझाईएको छ ।
महासंघद्वारा संकलन गरिएको विवरणअनुसार उक्त आन्दोलन र त्यसपछिका घटनाक्रममा देशभरका १९ वटा सञ्चार संस्थाले करिब ५९ करोड ९३ लाख रुपैयाँ बराबरको आर्थिक क्षति व्यहोर्नुपरेको छ। यो क्षतिले नेपालको सञ्चार क्षेत्रलाई गहिरो चोट पु¥याएको छ।
त्यसैगरी, महासंघका संरचनामार्फत संकलित र क्षति पुगेका संचारसंस्थाहरुले नेपाल पत्रकार महासंघलाई उपलब्ध गराएको तथ्यांक अनुसार मिडिया उद्यमी, सञ्चारकर्मी तथा सञ्चारसँग सम्बन्धित कर्मचारी गरी ३८ जनाको व्यक्तिगत सम्पत्ति तथा निजी सवारी साधन आगजनीका कारण पूर्ण रूपमा नष्ट भएको छ। यसबाट मात्रै १७ करोड ८४ लाख रुपैयाँ बराबरको व्यक्तिगत क्षति भएको देखिन्छ।
घटनाक्रमको प्रत्यक्ष रिपोर्टिङमा खटिएका ५ जना पत्रकार गोलीको छर्रा लागेर घाइते भएका छन्। तीमध्ये केही पत्रकारले उपचार र असुरक्षित अवस्थाका कारण आफ्नो रोजगारीसमेत गुमाउनुपरेको अवस्था छ, जुन अत्यन्तै दुःखद र गम्भीर विषय हो।
नेपालको सञ्चार जगतले यस घटनाबाट भोग्नुपरेको क्षति केवल आर्थिक हिसाबले मात्र मापन गर्न सम्भव छैन। कान्तिपुर दैनिक र टेलिभिजनले अर्बौं मूल्य तिरेर पनि पुनः प्राप्त गर्न नसकिने महत्वपूर्ण अभिलेख, सामग्री र ऐतिहासिक दस्तावेजहरू सधैंका लागि गुमाएका छन्, जसले प्रेस स्वतन्त्रता र सूचनाको अधिकारमा गम्भीर असर पारेको छ ।
महासंघले हालसम्म संकलन गरेको विवरण अनुसार सञ्चार संस्थाहरू र सञ्चारकर्मीका निजी सम्पत्तिसमेत गरी मुलुकको सञ्चार क्षेत्रले कुल ७७ करोड ७७ लाख रुपैयाँ बराबरको क्षति व्यहोरेको छ।
यस परिस्थितिमा, क्षतिग्रस्त सञ्चारकर्मीका निजी सवारी साधन पुनः खरिदका लागि राहत उपलब्ध गराउन, सरकारले आवश्यक सहजीकरण गर्दै क्षतिपूर्ति प्रदान गर्न, साथै क्षति पुगेका सञ्चार माध्यम तथा निजी सम्पत्ति ध्वस्त भएका पत्रकार तथा सञ्चारसम्बद्ध व्यक्तिहरूका लागि विशेष राहत प्याकेज ल्याउन नेपाल पत्रकार महासंघ नेपाल सरकार संग जोडदार माग गर्दछ। घाईते पत्रकारका लागि बिशेष राहत ल्याउन माग गर्दछ ।
यस सम्बन्धी क्षतिको विस्तृत विवरणसूची संलग्न गरि आजै सरकारका प्रवक्ता सञ्चार तथा सुचना प्रविधि मन्त्री जगदिश खरेल र मन्त्रालयका सचिव राधिका अर्याल समक्ष बुझाएको छ । महासंघका अध्यक्ष निर्मला शर्माको नेतृत्वमा गएको महासंघ प्रतिनिधिमण्डलले क्षति पुगेका सञ्चारसंस्था र पत्रकारहरुलाई बिशेष राहत प्याकेज घोषणा गर्न माग गरेको थियो ।
मन्त्री खरेलले सरकारले क्षति पुगेका सञ्चार संस्थाहरु र निजी सवारी जलेका पत्रकारहरुलाई राहत दिने बारे सरकार सकरात्मक रहेको प्रतिवद्वता जनाउनुभएको थियो । महासंघ प्रतिनिधिमण्डल संगको भेटमा सचिव अर्यालले सञ्चार क्षेत्रमा परेको समस्यामा सरकार र मन्त्रालय गम्भीर रहेका बताउनुभएको थियो।