परिवर्तनको चाहना राखेर भएको आन्दोलनका न्यायोचित मागहरू शान्तिपूर्ण वार्तामार्फत पूरा गर्न सम्बद्ध पक्षसँग महासंघकाे अपिल

 

मिति : २०८२/०५/२४

अपिल

जेनजीको आन्दोलनमा सरकारी क्रूर दमनको परिस्थितिबिच समाचार संकलनमा खटिएका पत्रकारमाथि भएको गोली प्रहार, कुटपिट, अभद्र व्यवहार र सञ्चारगृहमाथिको आक्रमणले पत्रकार र सञ्चारमाध्यमको सुरक्षामै प्रश्न उठेबाट नेपाल पत्रकार महासंघ चिन्तित छ, र यसखाले घटनाप्रति खेद व्यक्त गर्दछ।

पछिल्लो आन्दोलनका क्रममा कार्यस्थलमा पत्रकारहरुले गम्भीर चुनौति भोगेका छन् । हिजो चार जना पत्रकार गोली लागेर घाइते भएका छन् भने आज पनि कान्तिपुरको कार्यालयमा आक्मण भएको छ । त्यसैगरी बुटवलमा रहेको रेडियो जागरमा तोडफोड गरिएको छ ।

जेनजीको सोमबारको आन्दोलनमा सरकारले चरम बल प्रयोग गरेपछि भड्किएको आन्दोलन आज मंगलबार पनि जारी रहेको छ । आन्दोलनकारीले संघीय संसद भवन, सिंहदरबा, सार्वजनिक सम्पत्ति, राजनीतिक दल तथा नेतको घरमा समेत आगजनी गरेका छन् । यस्ता घटनाप्रति महासंघ निन्दा गर्दछ ।

महासंघ सरकार, सुरक्षाकर्मी र आन्दोलनरत पक्षसँग पत्रकारहरुलाई निर्भयतापुर्वक काम गर्ने वातावरण निर्माणका लागि आव्हान गर्दछ । महासंघ सबै पक्षलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न अनुरोध गर्दछ । देशभरका पत्रकारहरुलाई सुरक्षित र संयमित भएर व्यवसायिक कर्ममा संलग्न हुन आग्रह गर्दछ ।

महासंघ परिवर्तनको चाहना राखेर भएको आन्दोलनका न्यायोचित मागहरू शान्तिपूर्ण वार्तामार्फत पूरा गर्न सम्बद्ध पक्षसँग अपिल गर्दछ ।

रामप्रसाद दाहाल

महासचिव

 डाउनलोड गर्नुहोस्