नेपाल पत्रकार महासंघले मंगलबार कान्तिपुर मिडिया ग्रुपमा धर्ना

नेपाल पत्रकार महासंघले मंगलबार कान्तिपुर मिडिया ग्रुपमा धर्ना



२०८० आश्विन ३०


असोज ३०, काठमाडौं ।  नेपाल पत्रकार महासंघले मंगलबार कान्तिपुर मिडिया ग्रुपमा धर्ना दिएको छ । व्यवस्थापनले निष्कासन गरेका ८२ पत्रकारको पुनर्वहाली, अनधिकृत सरुवाको बदर र श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वय लगायतका माग पूरा गर्न महासंघले एक घण्टा धर्ना दिएको हो ।  

महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले कान्तिपुरले न्यूनतम माग पनि सम्बोधन गर्न तयार नभएकाले आन्दोलनमा आउनुपरेको बताउनुभयो । “महासंघ कसैको दबाबका अगाडि डग्दैन, कसरी आन्दोलन हुन्छ र कसरी श्रमजीवीका अगाडि व्यवस्थापन झुक्नु पर्छ भन्ने हामीसँग इतिहास छ”, उहाँले भन्नुभयो, “कान्तिपुरजस्तो संस्थाको विश्वसनीयता नखस्कियोस् र बदनामी नहोस् भन्नेमा हामी सचेत छौँ, तर यस विषयमा व्यवस्थापन बेलैमा सचेत हुनुपर्छ ।” तत्काल निशर्त पुनर्बहाली र सरुवा बदर गर्न उहाँले कान्तिपुरसँग माग गर्नुभयो । उहाँले अन्तर्राष्ट्रिय पत्रकार महासंघसहितका संस्थाहरू र कुटनीतिक नियकामा पनि पत्राचार गरी श्रमको मुद्दालाई अन्तर्राष्ट्रियकरण गरिने बताउनुभयो ।

महासंघका महासचिव रोसन पुरीले कान्तिपुरले श्रमजीवी पत्रकार ऐन लगायतका कानुन कार्यान्वयन नगर्दा पत्रकारहरू सडकमा उत्रिनुपर्ने अवस्था आएको बताउनुभयो । “कान्तिपुरले श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएन, उल्टो पत्रकारमाथि अपमान गरिह¥यो”, पुरीले भन्नुभयो, “कानुनअनुसार पत्रकारले पाउने सेवासुविधा कान्तिपुरले निदिएसम्म यो आन्दोलन रोकिँदैन । यो आन्दोलनको सुरुवात हो, यसलाई निष्कर्षमा पु¥याएर मात्र हामी उठ्ने छौँ ।” यो कान्तिपुरसँगको पैठोजोरी नभएर आधारभूत मानवअधिकारको विषय भएको उहाँले बताउनुभयो ।


प्रेस सेन्टर नेपालका महासचिव सन्तोष पौडेलले श्रमजीवीको विषय समग्र मिडिया उद्योगमा रहेकाले यसलाई विस्तारित गर्नुपर्ने बताउनुभयो । 

समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणि सुवेदीले धर्नामा ऐक्बद्धता जनाउँदै श्रमको मुद्दा निरुपण गर्ने यो उपयुक्त बेला भएको बताउनुभयो ।  

श्रमजीवी पत्रकार संघका अध्यक्ष जन्मदेव जैशीले पत्रकारहरूको न्यायपूर्ण आन्दोलनमा आफूहरूको ऐक्यबद्धता रहेको बताउनुभयो । जायज मुद्दा र शालीन आन्दोलनलाई सकारात्मक रुपमा लिन र कानुनको पालना गर्न उहाँले आग्रह गर्नुभयो । सम्पूर्ण श्रमजीवीहरूलाई एकताबद्ध गरेर आन्दोलनलाई अगाडि बढाउनुपर्ने उहाँले बताउनुभयो ।


काठमाडौं पोस्टका पत्रकार प्रज्ज्वल ओलीले कानुन र विधिअनुसार निर्णय लिन व्यवस्थापनलाई अनुरोध गर्नुभयो । आफूहरूले सामूहिक माग राख्दा व्यक्तिगत रुपमा बोलाएर दबाब दिने गरेको बताउनुभयो । “हाम्रो जायज माग सुनुवाई नभएसम्म हाम्रो आन्दोलन जारी रहनेछ”, उहाँले भन्नुभयो ।

कान्तिपुरका पत्रकार अतुल मिश्रले पत्रकारको श्रमको आन्दोलन कान्तिपुर संस्था विरुद्ध नभएको स्पष्ट पार्नुभयो । “हामीले श्रमको मूल्य मागेका हौँ, व्यवस्थापनले यसलाई आफूविरुद्धको आन्दोलन नठानोस” , उहाँले भन्नुभयो । 

धर्नामा कान्तिपुर मिडिया ग्रुपमा कार्यरत पत्रकारहरूसहित पत्रकारका विभिन्न संगठनका प्रतिनिधिहरू पनि सहभागी थिए ।


महासंघका महासचिव रोसन पुरीले कान्तिपुरमा चरणबद्ध आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरिने जानकारी दिनुभयो । महासंघले बुधबार पनि ३ देखि ४ बजेसम्म धर्ना जारी राख्नेछ ।